२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

जलवायु परिवर्तनको असर र थामेको बाढी

ADV
२०८१ भदौ ७ गते ०६:२५
जलवायु परिवर्तनको असर र थामेको बाढी

–अनिल पोखरेल

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ थामे बजार । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पदयात्रा जानेहरू थामेमा बास बस्ने गर्थे । तर, २०८१ साउन ३२ गते शुक्रवार दिउँसो करिब १ बजे ठूल्ठूला ढुङ्गा र गेग्रानसहितको भीषण बाढीले हेर्दाहेर्दै रमणीय थामे बजारलाई ढुङ्गे बगरमा परिणत गर्‍यो । अकस्मात् आएको बाढीले पर्यटकीय गाउँ थामे बजारका १३ वटा घर पूर्ण रूपमा र १० वटामा आंशिक क्षति भएको छ । एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी पनि बगाएको छ । उक्त दिन पानी खासै परेको थिएन र पनि लेदोसहितको यति ठुलो बाढी र गेग्रान कसरी आयो भन्ने सबैमा ठुलो प्रश्न थियो । 

घटनापछि शनिवार बिहान हामी थामे बजार पुग्यौँ । त्यहाँ पुगेर प्रभावित परिवारलाई नगद तथा जिन्सी राहत वितरण गर्नाका साथै स्थलगत अवलोकन र स्थानीयसँग अन्तरक्रिया गर्‍यौँ । थामे बजारबाट थामे खोलाको मुहानतर्फ लाग्यौँ । त्यहाँ पाँच वटा तालहरू देख्यौँ । त्योमध्येको सबैभन्दा माथि रहेको ठुलो तालबाट पानी भरिएर बरफसँगै तल्लो तालमा गएर बजारिएछ । त्यसले ठुलो छाल बनाएर निकासतर्फको भाग भत्काएर बाहिर निस्केछ । यस्तो प्रक्रियालाई हिमताल फुटेको भनिन्छ । उक्त पानीले दायाँबायाँका ढुङ्गा, गेग्रानलाई खोतलेर तल लगेर थामे बजारमा थुपार्‍यो । 

जल तथा मौसम विज्ञान विभाग, प्राविधिक र विषय विज्ञको सहभागितामा सो घटनाको विस्तृत अनुसन्धान गर्न टोली गठन भएको छ । उक्त टोलीले अध्ययन गरिसकेपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ । सामान्यतः घटनास्थलको सरसर्ती अवलोकन गर्दा तापक्रम वृद्धिकै कारणले हिमताल विस्फोट भएको अनुमान गर्न सकिन्छ । अहिले कति तापक्रम वृद्धि भयो, विगतको तापक्रमको घटबढको अवस्था के थियो भन्ने पनि अध्ययन गर्न आवश्यक छ । 

पातला कपडा लगाउँदा पनि सो उचाइमा आश्चर्यजनक गर्मी महसुस भइरहेको थियो । थामे बजारका स्थानीयसँग अन्तरक्रिया गर्दा पनि स्थानीयहरूले तीन/चार दिनदेखि नै काला निला बादल मडारिरहेको बताए । बौद्ध धर्म परम्पराअनुसार उनीहरूले तालसम्म पुगेर पूजाआजा गर्ने उद्देश्यका साथ तयारीसमेत गरेका रहेछन् । उनीहरूका अनुसार बाढी आउने दिन बिहान सो क्षेत्रमा पानी परेको थिएन । तर, त्यस दिन कालो बादल थियो । उनीहरूले अहिलेसम्म त्यस खालको कालो बादल नदेखेको बताए । 

मसिनो तर लगातार पानी परिरहेको, हप्हपी गर्मी । पानी र तापक्रम दुवैका कारण पहिलो ताल फुट्यो । ताल फुटेको सुनिश्चित गर्न हामीले हेलिकोप्टरबाट दुई राउन्ड नजिकबाट अवलोकन गर्‍यौं । ताल फुट्नु पछाडिको कारण भनेकै तापक्रम ह्वात्त बढ्नु हो । त्यो पहिलो पटक फुटेको देखिन्छ । हिमताल पग्लिएपछि माथिल्लो तालबाट हिउँको डल्लासहित तल्लो तालमा बजारिएको अनुमान गर्न सकिन्छ । तल्लो तालको निकासतर्फको भूभाग कमजोर रहेछ । त्यसको भित्र सयौँ वर्षदेखिको हिउँको ढिक्का चट्टान रहेको हुनसक्छ । तापक्रम वृद्धि भएपछि त्यो आफैँ पग्लिन थालेको अवस्थामा माथिल्लो तालबाट पानी र बरफ बगेर आइसकेपछि त्यसको छालले तल्लो तालको मुख फोड्यो । माथिबाट पानी र बरफ बज्रिएपछि दोस्रो ठुलो तालको पहिल्यै कमजोर भइसकेको मुख फुट्यो । माथिल्लो तालको केहीसहित त्यो पानी ह्वात्तै बग्यो । 

माथिल्लो ताल अहिले पनि टिलपिल टिलपिल नै छ । पहिलो तालबाट कति पानी गयो, त्यो अहिल्यै भन्न सकिँदैन । रित्तिएको भनेको दोस्रो ताल हो । यसको मूल जड तापक्रम वृद्धि भएर हिमताल पग्लिएर फुटेको हो । सो घटनाको विस्तृत अध्ययन गर्न गठित टोलीले अध्ययन गरेर सो क्षेत्रमा पछिल्ला समय घटबढ भएका तापक्रमको विश्लेषण गरेर निष्कर्ष निकाल्छ । यसले जलवायु परिवर्तनका कारणले हिमाली क्षेत्रमा जोखिम बढ्दो छ भन्ने स्पष्ट भएको छ । थामे बाढीले यसको थप पुस्ट्याइँ गर्छ । जलवायु परिवर्तनकै कारण उक्त घटना भएको हो । किनभने सो क्षेत्रमा कुनै पनि मानवीय गतिविधि छैन । 

हिमताललाई खलबल्याउने गरी डोजर चलाउने, रुख काट्ने तथा मानवीय संरचना बनाउने कार्यले सो घटना भएको होइन, मूलतः जलवायु परिवर्तनको असर स्वरूप हिमताल फुटेको हो । यसलाई पुस्ट्याइँ गर्ने आधार, विगतका वातावरणीय प्रवृत्ति, अहिलेसम्म के भए भन्ने वैज्ञानिक प्रमाण जुटाएर घटनाको कारण पत्ता लगाउनुपर्छ । 

यस घटनाले हामीलाई विशिष्ट पाठ सिकाएको छ । हिमाली क्षेत्रमा रहेका साना ताल पनि उत्तिकै जोखिममा रहेछन् । हिमतालको जोखिम प्राथिमिकीकरण गर्ने तरिका नै पुनरावलोकन गर्नुपर्ने रहेछ । यस कामलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । ठूल्ठूला मात्रै होइन, साना तालले पनि मुख्यगरी बस्तीलाई नोक्सानी पुर्‍याउन सक्दा रहेछन् । बस्ती एक÷डेढ सय किलोमिटर तल हुँदा हुन् त त्यति क्षति गर्दैनथ्यो होला । साना ताल विस्फोट हुँदा बस्ती, पुल, जलविद्युत् आयोजना, विद्यालयलगायत संरचना नजिकै छ भने क्षति बढी हुन सक्छ ।

(राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले थामे बाढीबारे पत्रकार सम्मेलनमा दिएको जानकारीको सम्पादित अंश ।)

ADVADV

सम्बन्धित खबर

Advertise