२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

दुर्व्यसन र यसको पारिवारिक प्रभाव

ADV
२०८१ भदौ ९ गते ०६:३०
दुर्व्यसन र यसको पारिवारिक प्रभाव

–लक्ष्मण सिंह अधिकारी

दुर्व्यसन भन्ने शब्द नेपाली समाजमा चिर परिचित शब्द हो र यो लागू औषध प्रयोगसँग सम्बन्ध छ । यसरी हेर्दा दुर्व्यसनीले लागू औषध तथा मद्यपान सेवन गर्ने लतलाई दुर्व्यसन भन्ने गरिन्छ । लागू औषध भन्नाले कुनै पनि प्राकृतिक वा रासायनिक पदार्थ जसको प्रयोग वा सेवनले सेवनकर्ताको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पारि उसको सोचाई र भावनामा परिवर्तन ल्याइदिन्छ, जसले गर्दा उसको सोचाई र सही निर्णय गर्न सक्ने क्षमतामा नै ह्रास आउन थाल्दछ । लागू औषधको सेवन कानुनी तवरमा प्रतिबन्धित छ भने यस्ता हानिकारक तत्त्वको सेवन गर्ने लतलाई दुर्व्यसन भनिन्छ । लागू औषध सेवन गर्ने कार्य व्यक्ति, उसको परिवार, समाज र समग्र देशको निमित्त एक गम्भीर रोग हो ।

व्यक्ति नसामाथि निर्भर बन्दै जानु भनेको एउटा पारिवारिक रोग पनि हो । परिवारमा एक जना सदस्य लागू औषध तथा मद्यपानमा निर्भर हुनु भनेको परिवारका अन्य सदस्यहरू पनि रोगी हुनु हो । द अमेरिकन सोसाइटी अफ अडिसन मेडिसिनले हालसालै प्रकाशित गरेको परिभाषाअनुसार लागू औषध तथा मद्यपानमा निर्भर बन्दै जानु भनेको एउटा रोग हो । यो बढ्दै जाने र चिरकालसम्म रहिरहने रोग हो । यसले सेवनकर्ताको दिमागले गर्ने कार्य, अन्तर–सम्बन्ध, काम गर्ने क्षमता तथा बानी व्यवहारमा अत्यन्तै नराम्रो प्रभाव पार्दछ । यति भयानक रोग हुँदा हुँदै पनि यसको उपचार सम्भव छ ।

पारिवारिक रोगको रूपमा दुर्व्यसन

दुर्व्यसनलाई जुनसुकै पक्षले हेरे पनि यो एउटा पारिवारिक रोग हो । दुर्व्यसनको उपचार गर्दा उसलाई परिवारबाट टाढा, एक्लो राखेर यसको उपचार सम्भव छैन । त्यसैले लागू औषध तथा मद्यपानमाथि निर्भर व्यक्तिको श्रीमती तथा परिवारका अन्य सदस्यहरूसँग उसको बिग्रिएको सम्बन्धलाई पुनः सुधार गर्न नितान्तः जरुरी छ । दुर्व्यसनलाई पारिवारिक रोगको रूपमा यस अर्थमा पनि लिइन्छ कि कुनै परिवारमा एक जना व्यक्तिले लगातार रूपमा लामो समयसम्म लागू औषध तथा मद्यपान प्रयोग गरेर परिवारको हित विपरीत उद्दण्ड र गैर सामाजिक क्रियाकलापहरू गर्दै आइरहेको हुन्छ । उसको यस प्रकारको उद्दण्ड व्यवहारलाई नियन्त्रण गर्न परिवारले ठुलो भूमिका खेलेको हुन्छ तर, लगातारको प्रयासपछि पनि उनीहरू यसमा सफल हुँदैनन् । कालान्तरमा गएर परिवारका अन्य सदस्यहरू जसले नशा प्रयोग गर्दैनन्, उनीहरूले पनि लागू औषध दुर्व्यसनीको जस्तै व्यवहार गर्न थाल्दछन् ।

हरदिन हररात नशामाथि निर्भर व्यक्तिलाई सो लतबाट टाढा गराउनु उनीहरूले आफ्नो कर्तव्य ठान्दछन्, जसले गर्दा उनीहरू मानसिक र शारीरिक रूपले कुनै क्षण पनि आफूमा ताजापनको महसुस गर्दैनन् । यस्तो अवस्थामा उसँग सँगै बस्नु भनेको अत्यधिक निराश, दुःखी र मानसिक रूपमा थकित हुनु हो । यो क्रम बढ्दै गएपछि परिवारका सबै सदस्यहरूको सम्पूर्ण ध्यान केवल नशामाथि निर्भर व्यक्ति माथि पर्न जान्छ । सबै सदस्यहरूको सम्पूर्ण ध्यान आफूप्रति आकर्षित भएको थाहा पाउने बित्तिकै परिवारका सदस्यहरूलाई एक आपसमा जुधाउने, बझाउने र भाँड्ने काम गर्दछ । जसले गर्दा उसको ड्रग प्राप्तिको बाटो सहज बन्न जान्छ । एक अर्थमा भन्ने हो भने उसले आफूलाई सफल खलनायकको भूमिकामा सफल भएको महसुस गर्दछ भने अर्को तर्फ उसको सारा परिवार लथालिङ्ग र तहसनहस हुँदै गइरहेको हुन्छ । 

लागू औषध प्रयोगकर्ताको परिवार यदि उ विवाहित हो भने उसको उद्दण्ड व्यवहारको सबैभन्दा बढी असर उसकी श्रीमतीलाई पर्दछ । सँगै जिउने सँगै मर्ने भनी आगोलाई साक्षी राखी सात फन्को परिक्रमा गरी सर्वस्व सुम्पिएकी बिचरीले श्रीमानको उद्दण्ड व्यवहारले आफू क्षतविक्षत भएको महसुस गर्न थाल्छिन् । श्रीमान् भनेको शिवजीको रूप हो भनी पाउको तीन अञ्जुली जल खाएकी श्रीमती उसको यस्तो राक्षसी रूप देखेर नतमस्तक हुन्छिन् । एकातिर साथी सङ्गी, इष्टमित्र, नातागोता तथा छर छिमेकले घर भित्रका सबै नराम्रा कुराहरू थाहा नपाओस् भनी लुकाउनु पर्ने हुन्छ भने अर्को तिर त्यसले उसलाई भित्र भित्रै अत्यन्तै पीडा दिइरहेको हुन्छ । 

प्रयोगकर्ताको परिवारमा देखिने लक्षण

रक्षात्मक प्रणाली

यो भनेको सत्य कुरालाई असत्य हो भनी खण्डन अर्थात् वास्तविकतालाई नकार्नु हो । सामान्यतः यस्तो प्रवृति सबै मानिसहरूमा धेर थोर हुन्छ नै तर, लागू औषध प्रयोगकर्ताको घरमा यो बढी हुन्छ । नशामाथि निर्भर व्यक्तिहरूमा यो कुरा सत्य होइन भनी खण्डन गर्ने प्रवृति अत्यधिक हुन्छ । नशा सेवन गर्ने व्यक्तिले जुन मात्रामा नशा सेवन गरिरहेको हुन्छ त्यसलाई जस्ताको तस्तै नभन्ने भनीहाले पनि त्यसलाई घटाएर भन्ने अथवा भन्दै नभन्ने गर्दछन् । 

दोषारोपण

लागू औषध तथा मद्यपान सेवन गर्ने आफ्नो बानी व्यवहारको दोष अरूलाई दिने, अरूको कारणले आफू दुर्व्यसनी भएको भनेर दोष अन्यको टाउकोमा थोपार्ने, दुर्भाग्यवश परिवारका सदस्यहरू पनि आफ्नो सन्तान बिग्रेको दोष एक अर्कालाई लगाउने र आफ्नो दायित्वबाट पन्छिन खोज्ने किसिमको स्वभाव नशा प्रयोगकर्ताको घर परिवारमा हुन्छ । घरमा प्रयोगकर्ताको नशा प्रतिको निर्भरता वृद्धि सँगै आरोप प्रत्यारोपले चरम रूप लिएको हुन्छ र साथै प्रयोगकर्ताले पनि घरमा सोही किसिमको वातावरण बनाइदिन्छ । 

ध्यानमग्नता

नशा प्रयोगकर्ताको सम्पूर्ण ध्यान नशा प्राप्ति तिर गए जस्तै परिवारका सदस्यहरूको सम्पूर्ण ध्यान उसप्रति गएको हुन्छ । उ व्यक्ति बिहान उठेदेखि बेलुका घर नफर्केसम्म सबैको ध्यान उसैप्रति हुन्छ, जसले गर्दा उनीहरूले आफ्नो आवश्यकताप्रति ध्यान दिन बिर्सिन्छन् । विस्तारै–विस्तारै उनीहरूको जीवन पनि प्रयोगकर्ताको जीवनसँग मेल खाने खालको हुँदै जान्छ । प्रयोगकर्तासँगको लामो समयको उठबसले उसले कति खेर के गर्छ भन्ने कुरा उनीहरूलाई थाहा हुन्छ । प्रयोगकर्ताले दैनिक रूपमा सामान खोज्ने, पैसाको जोहो गर्ने, नभेटे लडाई झगडा गर्ने, घरका सामान तोडफोड गर्ने र के कस्ता साथीहरूसँग सङ्गत गर्छन् भन्ने तर्फ उनीहरूको ध्यान गएको हुन्छ । 

मोलमोलाइ गर्ने

लागू औषध प्रयोगकर्ताहरू नशा प्रयोग गर्ने बानी छाड्न परिवारसँग मोलमोलाइ गरिरहेका हुन्छन् । अर्को स्कुलमा मलाई भर्ना गराई दिनुस्, नयाँ मोटर साइकल, महँगो मोबाइल किनिदिनुस् अथवा फलानो या ढिस्काना पाए आफै छाडिदिन्छु । अर्कोतर्फ परिवारले पनि तिमीले लागू औषध प्रयोग गर्न छाडेमा हामी तिम्रो लागि जे पनि गरी दिन्छौ, तिम्रो स्कुलमा गएर प्रिन्सिपल सरलाई केही दिन देखि बिरामी भएकोले स्कुल नआएको भनी दिन्छौँ, यदि तिमीले नशा सेवन गर्न छाड्यौ भने । परिवारको यस प्रकारको मोलमोलाइको उद्देश्य भनेको उसलाई नशा प्रयोगबाट टाढा राख्नु नै हो तर यस्तो मोलमोलाइले आखिरमा केही काम गर्दैन र यसले उल्टो उनीहरूलाई निराश र उदासीन बनाई दिन्छ ।

उदासीनता

उसले पटक–पटक गरेको प्रतिज्ञा, मोलमोलाइहरू र साथै केही समय नशा रहित भएर बसेका अवधिले परिवारजनमा एक किसिमको आशा र उमङ्ग जगाउँदछ । तर, केही समयपछि उसको नशा प्रयोगले आशा, उमङ्ग भताभुङ्ग पारिदिन्छ । तिनीहरू जो उसँग नजिक छन्, विस्तारै–विस्तारै निराशाको खाडलमा पर्न जान्छन् । धेरै समयको प्रयास पछि पनि उसको दुर्व्यसनलाई नियन्त्रणमा राख्न नसक्दा परिवारमा डर, चिन्ता, त्रास भइरहेको हुन्छ । 

दबिएका रिस

सुरु सुरुका दिनहरूमा दुर्व्यसनीको परिवारका सदस्यहरू रिसको भावनालाई मनभित्रै दबाएर राख्छन् । रिस राग देखाउँदा प्रयोगकर्ताहरू रिसाएर झन् बढी प्रयोग गर्ने पो हो कि भनी शान्त भई दिन्छन् । उसले भनेबमोजिम नै गर्दै जान्छन् तर यसले रतिभर काम गर्दैन । उसको प्रयोगको मात्रा झन् झन् बढ्दै जान्छ र उसको व्यवहारहरू पनि असामान्य बन्दै जान्छ । परिवारजनको अथक प्रयास पछि पनि उसमा केही सुधार नआएपछि उनीहरू भित्र भित्रै क्रोधित र रिस रागको भण्डारणमा परिणत हुँदै जान्छन् । 

एक्लिँदै जाने प्रयोगकर्ताको एकोहोरो रेखदेख र अटुट चिन्ताले परिवारहरू आजित भैसकेका हुन्छन् । दुर्व्यसनी झन्–झन् अनियन्त्रित र कमजोर हुँदै जान्छ । परिवारमा उदासीनता छाउँदै जान्छ । परिवारका सदस्यहरू कुनै जमघटमा सम्मिलित हुन चाहँदैनन् किनभने उसैको विषयमा प्रश्न गर्छन् भन्ने डर मनमा सधैँ रहिरहन्छ । परिवारजनले ढाकछोप र झुटो व्यवहार गर्दा गदै थकित भैसकेका हुन्छन् । अब परिवार विस्तारै–विस्तारै समाजबाट एक्लिँदै जान्छ । जीवनको भोगाई अत्यन्त कष्टकर बन्दै जान्छ र उनीहरूको समस्या कसैले नबुझेको भान हुन्छ । 

व्यक्तित्वमा परिवर्तन

लागू औषध प्रयोगकर्ताको घर परिवार तथा अभिभावकहरू सुरुका दिनहरूमा सामाजिक, दयालु, सहयोगी तथा धैर्यवान हुन्छन् । दुनियाँले राम्रो व्यक्तित्व भएको मान्छे भनेर गुण गान गाउँछन् । तर, त्यो परिवारमा एक जना सदस्य लागू औषधको दलदलमा फस्दै जान्छ र परिवारले धेरै प्रयास गर्दा पनि नशा सेवनबाट मुक्त गराउन सक्दैन । उसले गर्दा परिवारमा आफसे आफ व्यक्तित्व परिवर्तन हुँदै जान्छ । तनावपूर्ण पारिवारिक वातावरणसँग जुध्दा सकारात्मक पक्षहरू हराउँदै जान्छ । एक्कासि रिसाहा, क्रोधित र झगडालु स्वभावको हुँदै जान्छ । लागू औषधमाथि निर्भर व्यक्तिको जस्तो व्यवहार उनीहरूको पनि त्यस्तै हुँदै जान्छ ।

रोकथामका निम्ति गर्नुपर्ने पहल

लागू औषध दुर्व्यसनीको अवस्था एक रोग हो । यस्तो अवस्थाले व्यक्तिलाई बिस्तारै समाजबाट अलग गर्दै लैजान्छ र त्यसले सामाजिक विचलन र अपराध नै निम्त्याउने गर्छ । त्यसकारण लागु पदार्थ दुर्व्यसन रोकथामको प्रभावकारी उपाय भनेको कुनै पनि बालक वा वयस्क उमेरका युवा–युवतीलाई पहिले उसलाई लागु पदार्थका दुर्व्यसनीको सम्पर्कमा आउनबाट कसरी बचाउने र रोक्ने भन्नेमा ध्यान जानु जरुरी छ । लागु औषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई दुर्व्यसनबाट छुटाउन सबैको सहयोग आवश्यक छ । घरभित्र पारिवारिक सदस्य, बाहिर समाज र राज्यको भूमिका आवश्यक छ । गृह मन्त्रालयको तथ्यांकअनुसार अहिले देशभर २४० भन्दा बढी उपचार तथा पुनस्र्थापना केन्द्रहरू सञ्चालनमा रहेका छन् । ती केन्द्रहरूमा विभिन्न वैज्ञानिक विधिको प्रयोग गरेर डिटक्सिफाइ गर्ने गरिन्छ । विशेषज्ञ चिकित्सकको सल्लाहमा उपयुक्त औषधिको प्रयोग पनि गर्ने गरिन्छ । छुटाउन नसक्ने दुर्व्यसनीमा पुनस्र्थापना केन्द्रको सहयोग लिएर उपचार गर्नु आवश्यक छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise