२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १३:४४
नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ

नेपालगञ्जः जुम्लामा उत्पादन भएको स्याउ नेपालगञ्जका चोकचोकमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगञ्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो रु एक सय ६० मा खरिद गर्न पाइने स्थानीय बताउँछन् । 

कोहलपुर नगरपालिका–१२ की शर्मिला कार्कीले प्रतिकेजी स्याउमा रु २० नाफा गरेर जुम्लाको स्याउ बेचिरहेको जानकारी दिए । उनले भने, ‘जुम्लाबाट आएको स्याउ ताजा, रसिलो र स्वादिष्ट छ, त्यसैले छिटो बिक्री हुने गरेको छ ।’

एकै पटकमा जुम्लाबाट धेरै परिमाणमा स्याउ आउँछ र कोहलपुरका विभिन्न सटरमा भण्डारण गर्ने गरिएको कार्कीले बताए । कोहलपुरबाट किनेर ल्याइ नेपालगञ्जमा बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘जुम्लाबाट आउने स्याउ अर्गानिक र रसिलो भएकाले धेरैले यो स्याउ मन पराउँछन्’, उनी भन्छन् । 

नेपालगञ्जका स्थानीय ठेला व्यापारी रामदास कोइरीले स्थानीय तरकारी मण्डीबाट जुम्लाको स्याउ खरिद गरी बिक्री गरिरहेको बताए । उनका अनुसार भारतको सिमलालगायत क्षेत्रबाट नेपालगञ्जमा स्याउ ल्याएर बिक्री गरिन्छ । जुम्लाको स्याउभन्दा भारतबाट ल्याएको स्याउ हेर्दा आकर्षक हुने भएकाले त्यसको मूल्य बढी हुने गरेको कोइरीको भनाइ छ । 

जुम्लाको स्याउको मूल्य प्रतिकेजी रु एक सय ६० छभने भारतबाट आयात गरिएको स्याउ रु दुई सयदेखि दुई सय ५० सम्म रहेको छ । जुम्लाबाट दैनिक चार ट्रक स्याउ आउने गरेको थोक व्यापारीहरु बताउँछन् । जुम्लाबाट एकै जातको स्याउलाई तीन वर्गमा विभाजन गरी नेपालगञ्ज ल्याउने गरिएको छ ।

नेपालगञ्ज आएको जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पुर्‍याउने गरिएको छ । जुम्लाको स्याउ अहिले बजारमा ठूलो, मझौला र सानो गरी तीन प्रकारले ‘ग्रेडिङ’ गरी बिक्री हुँदै आएको छ । कर्णाली प्रदेशको जुम्लाबाहेक हुम्ला, कालीकोट, डोल्पा र मुगुबाट पनि नेपालगञ्जमा स्याउ बिक्रीका लागि ल्याउने गरिएको व्यापारी बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise