२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘लगानीको वातावरण सिर्जना गर्न प्रदेश सरकार तयार’

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १६:००
‘लगानीको वातावरण सिर्जना गर्न प्रदेश सरकार तयार’

लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकासका लागि सरकारले लगानीको वातावरण सिर्जना गर्ने बताएका छन् । उनले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको मुख्य आधार कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्र रहेको बताएका हुन् ।

एनआरएन एनसिसी अमेरिकाले आज आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको विदेशी दातृ निकायहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । ‘सरकारले लगानीको वातावरण बनाउँछ । यहाँहरुले ढुक्क भएर कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकासका लागि लगानी गर्न सक्नुहुन्छ’ उनले भने ‘लुम्बिनी सर्किटसँगै यहाँको हिमाल, पहाड, तराईसँगै बर्दिया राष्ट्रिय निकुञ्जले पर्यटकहरुलाइ आकर्षित गर्दछ ।’

मुख्यमन्त्री आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको वातावरण बनाउन सङ्घीय सरकारसँग पहल गरिएको र त्यसको नतिजा केही दिनभित्र प्राप्त हुने बताए । उनले विदेशबाट आउने पर्यटकलाई लुम्बिनीमा मात्रै सीमित नगरी प्रदेशका अन्य पर्यटकीय क्षेत्रहरुमा पु(याउन सकिनेगरी प्रदेश सरकारले ध्यान दिने जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्डविक्रम न्यौपानेले प्रदेशका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिकस्थलहरुको भरपुर मात्रामा प्रचारप्रसार हुन नसकेको जानकारी दिए । उनले वर्तमान सरकारले प्रचारप्रसारको ‘मोडेल’ परिवर्तन गरी विश्वसामु पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले लुम्बिनी सर्किटलाई विश्व बजारमा प्रचारप्रसार गर्न नसकिएको उल्लेख गरे । देवदह सांस्कृतिक र सम्पदाको हिसाबले महत्त्वपूर्ण रहेको र यसलाई विश्व बजारमा चिनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले लुम्बिनीलाई पर्यटकीय हबका रुपमा विकास गर्न धेरै सम्भावना रहेको र त्यसका लागि तीन तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले बुद्ध परिपथ क्षेत्रको विकासबाट समग्र लुम्बिनीको विकास गर्न सकिने आधार रहेको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले लुम्बिनी भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउने गरी सरकारी र निजी क्षेत्रबाट योजना बनाउनुपर्ने, लुम्बिनी चक्रपथ र धार्मिक चक्रपथलाई सँगै लग्नुपर्नेमा जोड दिँदै निजी क्षेत्र सहकार्य गर्न तयार रहेको धारणा राखे ।

ADVADV

सम्बन्धित खबर

Advertise