२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेपालमा अर्थोडक्स चियाको प्रतिस्पर्धा, अक्सन केन्द्र बनाउन माग

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते २१:२१
नेपालमा अर्थोडक्स चियाको प्रतिस्पर्धा, अक्सन केन्द्र बनाउन माग

काठमाडौं : नेपालमा उत्पादित अर्थोडक्स चियाको अक्सन केन्द्र सञ्चालनका लागि निजी क्षेत्रबाट प्रारम्भिक प्रक्रिया शुरु गरिएको छ । चिया क्षेत्रमा क्रियाशील युवा उद्यमीहरुको संस्था ‘टि स्टेसन इन्क’ले काठमाडौं चिया प्रतिस्पर्धाको आयोजना गर्दै अक्सनका लागि तयारी थालेको हो ।

सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली अर्थोडक्स चियाको बजारीकरणका लागि चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । मंगलबार नेपालमा उत्पादित अर्थोडक्स चिया उत्पादक कम्पनीहरुको प्रतिस्पर्धा एवम् चिया प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउन चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बेला भएको बताए । 

त्यस्तै, मन्त्री अधिकारीले चिया प्रदर्शनी कार्यक्रमले स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्ने उल्लेख गर्दै बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत गर्नेछ विश्वास व्यक्त गरे । उनले नेपाली चियाको मूख्य निर्यात बजार भारत भएको तर भारत आफैँ चियाको ठूलो उत्पादक रहेकाले नेपाली चियालाई उचित मूल्य नदिँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया बिक्री गर्न चिया उद्योगीहरु बाध्य हुने गरेको बताए । 

कार्यक्रममा चिया विज्ञ सोनाम लामाले नेपालमा अर्थोडक्स चियाको बजार र चिया संस्कृति निर्माणका लागि युवाहरुले अक्सन केन्द्र, चिया प्रतिस्पर्धामार्फत् प्रक्रिया अघि बढाएकोमा खुसी व्यक्त गरे । उनले चिया क्षेत्रमै भविष्य देखेका युवाहरुलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । आयोजक संस्था टि स्टेसन इन्कका अध्यक्ष प्रज्वल प्रधानले चियामै भविष्य खोजिरहेका युवा उद्यमीहरुको पहललाई निजी क्षेत्र र सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । ‘हामीले पहिलो पटक चिया प्रतिस्पर्धा गराएर अक्सन केन्द्र संचालनका लागि दबाब बढाएका छौं । उद्यमीहरुलाई प्रोत्साहित गराउने प्रयास गराएका छौं । यसमा सरकार र निजी क्षेत्रको पूर्ण साथ एवम समर्थन चाहिन्छ,’ उनले भने । 

चिया विज्ञ एवम उद्यमी डा.नरेन्द्र गुरुङले नेपालमै अक्सन केन्द्र संचालनमा ल्याउन सके नेपालको अर्थोडक्स चिया विश्व बजारमा सहजै पुग्नसक्ने बताए । चिया उद्यमी उषा सुब्बाले यस्तो किसिमको प्रतिस्पर्धाले उद्योगीहरुलाई प्रोत्साहित गर्ने र चियाको बजारीकरणमा फाइदा पुग्ने धारणा राखिन । काठमाडौंको ठमेलमा चलिरहेको चिया प्रतिस्पर्धामा ५० बढी कम्पनीका एकसय बढी चियाका भेराइटीहरु प्रदर्शनमा राखिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise