–डा. दिबाकर वशिष्ठ
स्वास्थ्य सेवा व्यवस्थापन भनेको स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाको कुशलतापूर्वक स्रोत र साधनको उच्चतम परिचालन गर्दै सार्वजनिक स्वास्थ्य प्रणालीको सुधारमा नेतृत्व, व्यवस्थापन र प्रशासनिक क्रियाकलापको समन्वयद्वारा सर्वसाधारणलाई सुलभ, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो । स्वास्थ्य सम्बन्धी नीति निर्माण, स्रोत र साधनको उच्चतम परिचालन र स्वास्थ्यकर्मी वा स्वास्थ्य क्षेत्रमा कार्यरत मानवसंशाधनमा उत्प्रेरणा जगाउने कलालाई नै स्वास्थ्य सेवा व्यवस्थापन भन्ने गरिन्छ । स्वास्थ्य सेवा व्यवस्थापनमा चिकित्सकीय कार्य मात्र गरिँदैन । यसमा एक जना स्वास्थ्यसँग सम्बन्धित प्राविधिक जनशक्ति जो नर्स, डक्टरलगायत पर्दछन्, उनीहरूलाई स्वास्थ्य र उपचार पद्धतिलगायत अन्य व्यवस्थापकीय कार्यहरूको पनि ज्ञान हुनु जरुरी हुन्छ । उनीहरू भविष्यमा अस्पताल वा चिकित्सासँग सम्बन्धित क्षेत्र सरकारी वा गैरसरकारी क्षेत्र वा जनस्वास्थ्यको क्षेत्रमा उच्च तह र पदमा पुगी समग्र संगठनको नेतृत्वदायी भूमिकामा रहनु पर्ने हुन्छ । यस्तो अवस्थामा प्राविधिक ज्ञान भएता पनि व्यवस्थापकीय ज्ञान नहुन सक्दछ जसको पूर्तिको लागी स्वास्थ्य र व्यवस्थापकीय ज्ञानसँगसँगै प्रदान गरिन्छ ।
परेटोको भनाइअनुसार २० रुपियाँ खर्च गरेर ८० रुपियाँ कमाउने तर, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेर यसको लागी न्यूनतम लागतमा स्रोत र साधनको उच्चतम परिचालन योजना, संगठन, नियन्त्रण, सञ्चार, समन्वय, कर्मचारी व्यवस्थापन, उत्प्रेरणा, नेतृत्वलगायतका व्यवस्थपकीय कार्यहरूको समन्वयद्वारा गरिन्छ । तसर्थ, यो शिक्षाको उद्देश्य पनि स्वास्थ्यलगायत व्यवस्थापकीय कार्यहरू सम्बन्धमा पनि ज्ञान दिनु नै भएको हुँदा यसलाई स्वास्थ्य सेवा व्यवस्थापन भन्ने गरिएको हो ।
स्वास्थ्य सेवासँग सम्बन्धित व्यक्ति वा यससँग रुचि राख्ने व्यक्तिलाई यही व्यवस्थापकीय कार्य सिकाउनु र बुझाउनको लागी स्वास्थ्य सेवा व्यवस्थापन शिक्षाको नेपालमा सुरुवात भएको हो । विश्वमा यसको सुरुवात १७ औँ शताब्दीको मध्य तिरबाट भएको पाइएता पनि विशेष गरी अमेरिका हुँदै अन्य युरोपियन मुलुकहरूबाट यो शिक्षा नेपालमा प्रवेश गरेको देखिन्छ । नेपालको सन्दर्भमा हेर्दा, यसको सुरुवात सर्वप्रथम सन् २००० मा पेसाले इन्जिनियर प्रो.डा. शितल कुमार कार्कीको अथक प्रयासबाट भएको थियो । यो शिक्षाको सुरुवात सर्वप्रथम नेशनल ओपन कलेज सानेपा, ललितपुरले गरेको हो, जसको नेतृत्व प्राचार्यको रूपमा स्वयम् कार्कीले गरेका थिए ।
पोखरा विश्व विद्यालयको सम्बन्धनमा स्वास्थ्य सेवा व्यवस्थापनको शिक्षा सुरु गर्ने यो कलेज दक्षिण एसिया मै पहिलो कलेज हो । जसले सन् २००१ बाट यो शिक्षामा स्नातक र सन् २००२ बाट स्नातकोत्तरको शिक्षा र १ वर्षे पोष्टग्राजुयट शिक्षा दिइरहेको छ । यो कलेजबाट स्नातकोत्तर उत्तीर्ण हजारौँ विद्यार्थी आज स्वदेश तथा विदेशमा स्वास्थ्य क्षेत्र, अस्पताल, सरकारी वा गैरसरकारी क्षेत्रमा उल्लेखनीय योगदान गर्न अव्वल देखिएका छन् । हाल यो विषयमा नेपालमा अन्य कलेजहरूले स्नातकका कक्षाहरू सुरुवात गरिसकेको अवस्था छ । यो शिक्षा लिएका व्यक्ति हालसम्म रोजगारीबाट प्रायः वञ्चित हुन परेको छैन ।
त्यसो त नेपालमा रोजगारीको एकातर्फ अभाव छ भने अर्कोतर्फ दक्षता र योग्यताअनुसारको तलब सुविधाको अभावमा रोजगारीको नयाँ अवसर खोज्दै विदेश जानेहरूको पनि दिनहुँ लर्को लाग्ने गरेको अवस्था छ । चिकित्सकसमेत नेपालमा बेरोजगार छन् भनेको सुन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ । तथापि, तुलनात्मक रूपमा यो स्वास्थ्य सेवा व्यवस्थापनमा स्नातक वा स्नातकोत्तर गरेका व्यक्तिहरू निजी क्षेत्रका अस्पतालमा प्रमुख कार्यकारी अधिकृत, अस्पताल प्रबन्धकलगायतका तहमा कार्यरत रहेको अवस्था छ भने सरकारी अस्पतालले पनि यो विषय अध्ययन गरेका व्यक्तिहरूलाई करारमा काममा लगाइरहेको देखिन्छ । नेपाल सरकार लोकसेवा आयोगले पनि यो विषयलाई उच्च प्राथमिकता दिनेतर्फ सोच बनाएको देखिन्छ । तसर्थ, पनि यो विषय अध्ययन गर्दा रोजगारीको अवसर तुलनात्मक रूपमा बढी हुने कुरामा कसैको विमति नरहला । यो शिक्षा आजको आवश्यकता हो भन्ने महसुस गरी स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले पनि यस विषयको प्रवर्द्धन र रोजगारीको अवसर सिर्जना गर्ने कार्यमा अझ सक्रियतापूर्वक लाग्नु पर्ने देखिन्छ । यस विषयको प्रवर्द्धन र चेतना एवम् स्वास्थ्यकर्मीको हकहितको लागि नेपाल स्वास्थ्य सेवा व्यवस्थापन संघ समेत गठन भई कार्य गरिरहेको अवस्था छ ।
तीव्र गतिमा निजी क्षेत्रमा र सरकारी तवरमा खुलेका अस्पताल एवम् स्वास्थ्य संस्थाको लागि चाहिने दक्ष र अनुभवी जनशक्तिको पूर्ति गर्न, समुदायमा आधारित स्वास्थ्य सेवाको विकास गर्न, विभिन्न भूमिकामा रहन सक्ने दक्षता जस्तैः स्वास्थ्य सेवा प्रबन्धक, मेडिकल निर्देशक, स्वास्थ्य प्रशासक, क्लिनिकल निर्देशन, नर्सिङ होमको लागि सहयोगी एवम् स्वास्थ्य समन्वयकर्तालगायत विभिन्न पद, तह र भूमिकामा कार्य गर्ने अवसर मिल्ने साथै, विश्वव्यापी मान्यता प्राप्त डिग्रीसमेत भएको हुँदा स्वास्थ्य सेवा व्यवस्थापन शिक्षा र यसको महत्व पछिल्लो समय नेपालमा बढिरहेको छ । एउटा चिकित्सक वा नर्स एवम् जनस्वास्थ्य अधिकृत वा सहायकले बिरामीको उपचार मात्र नगरी कर्मचारीलाई उत्प्रेरणा, सञ्चार, नेतृत्व, समन्वय, स्रोत र साधनको जोहो र यसको कार्यान्वयन, बजेट र लेखा सम्बन्धी जानकारी, औषधीको व्यवस्थापन, कर्मचारी भर्ना र तालिमलगायत अस्पतालको समग्र व्यवस्थापन गर्नुपर्ने हुनाले पनि यो शिक्षाको महत्व बढेको हो ।
जवान युवा युवति जो नर्स डाक्टर र अन्य चिकित्सा र मेडिसिन सम्बन्धित प्राविधिकहरू मात्र नभै यो शिक्षामा ६० वर्ष उमेर व्यतीत गरेका मेडिकल डक्टरसमेत अध्ययन गर्न उत्सुक भई डिग्री लिनुले यसको महत्व थप बढाएको देखिन्छ । यो शिक्षा लिनुको मुख्य कारण अस्पतालको प्रमुख कार्यकारीको रूपमा काम गर्दा कसरी स्रोत साधनको उच्चतम व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा एकातर्फ यस व्यवस्थापकीय ज्ञान प्राप्त भई सजिलै अस्पताल वा स्वास्थ्य संस्था सञ्चालन गर्ने सकिने र अर्कोतर्फ आफूले लिएको शिक्षाको डिग्रीले कानुनी मान्यतासमेत प्राप्त गर्ने हुँदा यसतर्फ थप आकर्षण बढेको छ । नेपालमा यो शिक्षामा स्नातक वा स्नातकोत्तर गरेका विद्यार्थीहरूले अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, भारतलगायतका विभिन्न देशहरूमा गई स्वास्थ्य संस्था, उक्त देशको सरकारी वा गैर सरकारी सघ संस्थामा कार्य गरिरहेको हुँदा स्वदेश एवम् विदेशमा समेत सहजै रोजगारी प्राप्त गरिरहेको अवस्था छ ।
यो शिक्षालाई अझ भरपर्दो र गुणस्तरीय बनाउन सम्बन्धित कलेजहरू र पोखरा विश्व विद्यालय विशेषरूपमा लाग्नुपर्ने देखिन्छ । समय सापेक्ष पाठ्यक्रमको विकास, प्राक्टिकल कार्यको भरपर्दो व्यवस्था र देशभरि यो शिक्षा र यसबाट मुलुकले लिन सक्ने फाइदाको बारेमा सेमिनार गोष्ठी गरी व्यापक प्रचार प्रसार गर्न ढिला भैसकेको छ । यो शिक्षा लिएपछि अधिकांश व्यक्ति स्वास्थ्य क्षेत्रमा कार्य गरेको र अस्पतालहरूमा अस्पताल प्रबन्धकको पदमा कार्य गरिरहेको देखिन्छ । विशेष गरी अस्पताल वा स्वास्थ्यसँग सम्बन्धित निकायमा नैतिकतादेखि लिएर अन्य नीति नियम र कानुनको निर्माण, स्वास्थ्य सेवालाई भरपर्दो र गुणस्तरीय बनाउँदै बिरामीको हेरचाहमा सुधार ल्याउने, अस्पतालमा थुप्रिएको फोहोर मैलाको उचित व्यवस्थापन गर्ने, संगठनको लक्ष्य निर्धारण गर्ने, योजना बनाउने, स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन गर्ने, कार्य तालिका निर्माण गर्ने, तालिमको व्यवस्थापन गर्ने, स्वास्थ्य सेवा प्रवाहमा समन्वय गर्ने, कार्यालय बैठक, कर्मचारी भर्ना, अनुगमनलगायतका व्यवस्थापकीय एवम् चिकित्सकीय कार्य दक्षतापूर्वक गर्न मद्दत पुग्दछ । तसर्थ, पनि यो शिक्षाको गरिमा र महत्व बढेको हो भन्नुमा कसैको विमति नरहला ।
(डा. वशिष्ठ नेशलन ओपन कलेज सानेपाका पूर्व प्राचार्य हुन् ।)