२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एसियनले ल्यायो कोदोको बिस्कुट

ADV
मध्यान्ह
२०८१ भदौ १२ गते २१:१६
एसियनले ल्यायो कोदोको बिस्कुट

विराटनगर : विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न थालेको छ । नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक एसियन बिस्कुटले कोदोको बिस्कुटको उत्पादन र बजारीकरण गर्न शुरु गरेको हो । केही समययता पश्चिम नेपालमा घरेलु र लघु उद्योगका स्तरमा स्थानीय उत्पादनका रुपमा यस्तो बिस्कुटको उत्पादन भइरहेको छ । तर एसियनले एकै चोटि देशभरी नै बजारीकरण र निर्यात समेत गर्ने उद्देश्यले अटोमेटिक मेसिनबाट ठूलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन हुन थालेको कम्पनीले जनाएको हो । 

नेपालका कच्चा पदार्थको प्रवद्र्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन शुरु गरेको कम्पनीले बताएको छ । उद्योगका संचालक आशिष जाजूले यस बिस्कुटको मुख्य कच्चा पदार्थ नेपालकै पहाडी क्षेत्रको उत्पादन कोदो भएको बताए । बिस्कुटलाई सुगन्धित बनाउन पूर्वी नेपाल इलामको अर्को उत्पादन अलैंचीको धुलो पनि मिसाइएको छ । साथै, फाइबरयुक्त बनाउन ओट्स मिसाइएको छ भने सुगन्ध र स्वादमा वृद्धि गर्न दालचिनीको धुलो पनि हालिएको उनले बताए । 

कोदो र दालचिनी मधुमेहको नियन्त्रणका लागि लाभकारी मानिन्छन् । संचालक जाजूले कोदोको बिस्कुट मधुमेहका बिरामीले सन्तुलित रुपमा प्रयोग गर्नसक्ने र यसले इम्युनिटी वृद्धि गर्ने र पाचन प्रणालीमा पनि सुधार गर्ने दाबी गरे । उद्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ राखेको छ । जाजूले यसलाई भारत निर्यातका लागि काम शुरु भइसकेको बताए ।

‘नेपालमा बिक्री गरिने बिस्कुटमा कोदो लेखिएको छ तर भारतमा कोदो लेखेर त्यहाँका अधिकांशले बुझ्दैनन्’, उनले भने, ‘त्यसैले त्यहाँ मिलेट र रागी लेखिएको छुट्टै पाकेट बनाएर निर्यात गरिनेछ ।’ उनले भारतीय बजारमा कोदोको बिस्कुटको नमूना पठाइसकिएको र त्यहाँबाट छिटो पठाइदिन अर्डर आएको जानकारी दिए । 

निर्यातका लागि कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्ने कार्य भइरहेको बताइएको जाजूको भनाइ थियो, ‘हामी यसलाई अन्तर्राष्ट्रिय बजारमा कस्तो प्याकेजिङमा निर्यात गर्ने भन्ने गृहकार्य गरिरहेका छौं । भारतमा दशैं–तिहार अगाडि नै निर्यात गरिसक्ने योजना छ ।’ उनले एसियनले विभिन्न ३० प्रकारका बिस्कुटको उत्पादन र निर्यात गर्दै आएको जानकारी दिए । जसमा स्वीट बिस्कुट, स्विट एन्ड साल्टी, साल्टेड, सुगर फ्री, पोटेटो बिस्कुट, कुकिज, डाइजेस्टिभ लगायतका बिस्कुट छन् । एसियनले मुख्यतया भारत र त्यसपछि अमेरिका, अस्ट्रेलिया र खाडी राष्ट्रमा बिस्कुटको निर्यात गरिरहेको उनको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise