२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

संघ, प्रदेश र स्थानीय तहको अन्तरसरकार समन्वय समितिको बैठक सम्पन्न

ADV
मध्यान्ह
२०८१ भदौ १४ गते २२:१९
संघ, प्रदेश र स्थानीय तहको अन्तरसरकार समन्वय समितिको बैठक सम्पन्न

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिमको विषयगत समितिको बैठक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबारमा सम्पन्न भएको छ । प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र हेर्ने मन्त्रालयका मन्त्रीहरु, प्रदेश सचिवहरु, नगरपालिका महासंघका अध्यक्ष एवम् गाउँपालिका राष्ट्रिय महासंघका कोषाध्यक्षको उपस्थितिमा सो बैठक शुक्रबार सम्पन्न भएको हो । 

बैठकमा मधेश प्रदेशबाट मन्त्री सकिल अलि मियाँ, बागमती प्रदेशबाट मन्त्री शुकमाया तामाङ र लुम्बिनी प्रदेशबाट मन्त्री प्रचण्डबिक्रम न्यौपानेका साथै संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, महाशाखा प्रमुख र विभागीय प्रमुखको उपस्थिति रहेको थियो । उक्त बैठकमा यस मन्त्रालयका तर्फबाट संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध र समन्वयका प्रमुख सवालहरुको विषयमा प्रस्तुतिकरण गरिएको थियो । बैठकमा प्रस्तुत सवाल र प्रदेश तथा स्थानीय तहका समस्या तथा समाधानका लागि बृहत् छलफल भएको छ । सबै तहका सरकारले व्यापार व्यवसाय सञ्चालन, प्रवर्द्धन, विकास र विस्तारका लागि आपसी सहकार्य र समन्वय गर्ने, सार्वजनिक निकायमा स्वदेशी उत्पादनको उपयोग र प्रवर्द्धन गर्न खरिद कानूनमा समयानुकूल सुधारका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने, त्रैमासिक समीक्षा हुनु अगावै प्रदेश सरकारका सम्बन्धित क्षेत्र हेर्ने सचिवहरुसँग समन्वय बैठक गरी उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रमा देखिएका समस्या निराकरणमा प्रयास गर्ने विषयमा बैठकमा सहमति भएको छ । 

साथै बैठकमा नेपाल सरकार उद्योग विभागमा दर्ता भएका वैदेशिक लगानी बाहेकका मझौला र साना उद्योगका अभिलेखहरु सम्बन्धित उद्योगीको मागका आधारमा प्रदेश सरकारको सम्बन्धित निकायमा हस्तान्तरण गर्ने, प्रदेश तथा स्थानीय सरकारका उद्योग तथा वाणिज्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुको क्षमता विकासका लागि सहकार्य गर्ने, स्वच्छ बजारको सम्बन्धमा अन्तर सरकार समन्वय कायम गर्ने, औद्योगिक ग्रामको पूर्वाधार निर्माणमा तीव्रता दिन स्थानीय तहलाई अनुरोध गरी पत्राचार गर्ने, व्यवसाय दर्ता गर्दा सङ्घ, प्रदेश र स्थानीय तहमा लाग्ने दोहोरो दर्ता तथा नवीकरण शूल्क हटाउन सम्बन्धित कानून संशोधन गर्ने लगायतका विषयमा सहमति भएको छ । 

बैठकमा प्रदेश मन्त्रालयका मन्त्री एवम् सचिव र संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा सुझावहरु राखेका थिए । बैठकमा मन्त्री दामोदर भण्डारीले तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्न विषयगत समितिको बैठक नियमित बस्ने कुरा जानकारी गराएका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise