२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बरुणेश्वर महादेव मन्दिर : जहाँ पूरा हुन्छ मनोकामना !

ADV
२०८१ भदौ १५ गते ०६:३०
बरुणेश्वर महादेव मन्दिर : जहाँ पूरा हुन्छ मनोकामना !

–खिमराज गिरी 

काठमाडौँको टोखा नगरपालिका वडा नं. १ बरुणेश्वर गुफामा अवस्थित श्री बौंडेश्वर (बरुणेश्वर) महादेवको मन्दिर नेपालको एक प्रसिद्ध धार्मिक स्थल हो । यो क्षेत्र सांस्कृतिक सम्पदा तथा आध्यात्मिक वातावरणमा शान्त रूपमा रहेको देख्न पाइन्छ । वातावरण स्वच्छ र हराभरा रहेको उक्त स्थान काठमाडौंको उत्तरी भेगमा अवस्थित छ र जहाँबाट नुवाकोटको यात्रा तय गर्न सकिन्छ । उक्त मन्दिर एक विशाल चट्टानको भित्र निकै नै अप्ठ्यारो स्थानमा रहेको छ । र, यहाँ विशेषगरी श्रावण महिनाभरी, वर्षको प्रत्येक सोमवार तथा मंसिर महिनाको बैकुण्ठ चतुर्दशीको दिन मेला लाग्दछ । 

हाम्रो धार्मिक पुस्तक श्रीस्वास्थानीमा वर्णन गरेअनुसार दक्ष प्रजापतिले महायज्ञ लगाउँदा सबै ज्वाइँहरूलाई डाक्दछन् तर, जेठा ज्वाइँ सतीदेवीका पति महादेवलाई नडाकेर अपमान भयो भनी सतीदेवीले आगोमा हाम फालेर प्राण त्याग गरेपछि विरक्त भएर महादेवले सतीदेवीको अङ्ग लिएर हिँड्दा उनको बायाँ स्तन पतन भएको उक्त ठाउँमा बौंडेश्वर महादेव उत्पत्ति भएर शिव शक्ति स्वरूपले रहेका भन्ने किम्वन्दती पाइन्छ । त्यस्तै, अर्को किम्वदन्तीअनुसार महादेवलाई राक्षसले लखेटेपछि एक रात उक्त ठाउँमा लुकेर बसेका र त्यसको भोलीपल्ट गोसाईंकुण्डतिर लागेका भन्ने छ । उक्त ठाउँ कसैले पनि देख्न मुस्किल हुने भएको र अप्ठेरोमा रहेकोले उक्त ठाउँअनुसार शिवको नाम पनि बौंडेश्वर रहन गएको भन्ने भनाई पनि रहेको छ । तथापि, उक्त स्थान काठमाडौँको उत्तरी भेगमा बडो शान्त, मनोरम दृश्यावलोकन, प्राकृतिक हरियाली स्वच्छ वातावरण, वरिपरि जङ्गलले ढाकिएको बढो रमणीय स्थलको रूपमा रहेको र हिन्दु धर्मको मान्यताअनुसार देवताका पनि देवता महादेवको मूर्ति स्थापना गरिएकोले उक्त ठाउँ प्राकृतिक, साँस्कृतिकरूपबाट मात्र नभएर धार्मिक स्थलको रूपमा पनि प्रख्यात रहेको छ र जहाँ हजारौँ भक्तजनहरू धेरै टाढा–टाढाबाट दर्शन गर्न आउँछन् । विशेषगरी श्रावण र मंसिर महिनामा भक्तजनको भिड हुने गर्दछ । 

पहिला मुस्किलले गोरेटो बाटो हिँडेर गन्तव्यमा पुग्न सकिन्थ्यो भने हाल आएर मन्दिर व्यवस्थापन समिति तथा स्थानीय जनताको सहयोगमा उक्त स्थानमा जाने सिँढी लगाइएको छ भने चिया, खाजा खाने स्थानको व्यवस्था राम्रो छ । त्यसैगरी उक्त स्थानमा जाने पुल पनि निर्माण गरिएको छ । त्यसैगरी प्रत्येक महिनाको मसान्तको दिन भजन कीर्तन गरिन्छ । प्रत्येक सोमवारको दिन बेलुकी आरती गरिन्छ । भक्तजनहरूको भिड भएको समयमा उनीहरूकै सुविधाको लागि स्वयम् सेवकहरू परिचालन गरिन्छ । 

धार्मिक मान्यताअनुसार हिन्दु धर्मका प्रमुख देवताको रूपमा चिनिने महादेवका अनेक स्वरूपमध्ये बौडेश्वर स्वरूप पनि एक हो । र, हाम्रो संस्कार र मान्यता पनि धार्मिक रीतिरिवाजमा आधारित भएकोले खडेरी पर्दा, कसैको सन्तान नभएमा उक्त मन्दिरमा पूजा गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ र स्थानीयको भनाईअनुसार उक्त कार्य सफल भएको पनि छ । त्यस्तै, शरीरमा घाउ खटिरा नआओस् भनेर उक्त स्थानमा अविरल रूपमा मुस्कुराइरहेको देखिने झरनाको पानीमा लुगासहितको स्नान गर्ने चलन छ । त्यस्तै पुत्र लाभको कामना गरी भाकल पनि गरेको पाइन्छ । 

यसरी त्यहाँ पुग्नको लागि हाल काठमाडौँको सुनधारा, भक्तपुर, ललितपुरलगायत अन्य विभिन्न स्थानबाट टोखा बौंडेश्वर महादेवको मन्दिर नजिकै बसको यात्रा पनि सहज रूपमा प्राप्त गर्न सकिन्छ । उक्त मन्दिर संरक्षण तथा सम्वद्र्धन लागि बौडेश्वर संरक्षण समिति तथा स्थानीय जनताले बडो मिहिनेत र निःश्वार्थरूपमा काम गरिरहेको छ । र, गत दुई वर्षको समयमा त्यहाँ निकै नै सुधारका कामहरू भएका छन् । थप सुधारका लागि स्थानीय तहले योजना नै बनाएर लागिरहेको छ । टोखा र तारकेश्वर नगरपालिका मिलेर काम गरिरहेका छन् । 

त्यसैले बौडेश्वर महादेवको मन्दिर मात्र नभएर नेपालमा यस्ता धार्मिक पवित्र स्थल धेरै छन् र जो संरक्षण र सम्वद्र्धनको पर्खाइमा रहेको पाइन्छ । तिनै मध्येमा एक पवित्र धार्मिक स्थलको रूपमा बौंडेश्वर मन्दिर परिचित भएको छ र विशेष पर्व तथा मेलामा देशका विभिन्न ठाउँहरूबाट भक्तजनहरूको भिड लाग्ने हुँदा सो पवित्र स्थललाई अझ बढी विविध कुराहरूमा विकास गर्नुपर्ने देखिन्छ । जसले गर्दा उक्त ठाउँमा सांस्कृतिक, धार्मिक तथा आर्थिक विकासमा टेवा पुग्नुको साथै सामाजिक सद्भाव पनि रहने कुरामा कसैको दुई मत नहोला । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise