२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सुर्खेत पुगेर रविले भने- कर्णालीले २०८४ मा रास्वपालाई सबैभन्दा बढी मत दिन्छ

Nada
कुलेन्द्र शाही
२०८१ भदौ १५ गते १६:३८
Shares
सुर्खेत पुगेर रविले भने- कर्णालीले २०८४ मा रास्वपालाई सबैभन्दा बढी मत दिन्छ

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले आगामी २०८४ को चुनावमा कर्णालीले आफ्नो पार्टीलाई सबैभन्दा बढी मत दिने दाबी गरेका छन् । शनिबार कर्णाली विशेष अभियानअन्तर्गत कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ncell

‘कर्णालीले एक पटक होइन पटक-पटक नेताहरुलाई जिताएर सिंहदरबार पठाएको छ,’ उनले भने, ‘कसले जित्यो कसले हार्‍यो त्यो थाहा छैन । तर कर्णालीले जितेन, सधैं हार्‍यो, त्यसैले आगामी चुनावमा रास्वपालाई कर्णालीले सबैभन्दा बढी मत दिएर जिताउँछ ।’ सभापति लामिछानेले राजनीतिमा आँट, तागत र ढंग यी तीन कुरा हुन आवश्यक रहेको जिकिर गरे । उनले आफूहरु आगामी निर्वाचनमा पुराना नेताहरुलाई स–सम्मान साथ बिदा गर्ने बताए । 

‘तपाईहरुको यो नै अन्तिम भोज हो जे जति छ खानु, आगामी ०८४ बाट तपाईंहरुलाई हामीले स–सम्मानका साथ बिदाइ गर्छौं,’ उनले भने । अहिलेको सरकार अनुभव र लुटेराको संगत भएको उनको आरोप छ । सभापति लामिछानेले आगामी निर्वाचनमा सबै पार्टी एक हुँदा पनि रास्वपा एक्लै चुनाव लड्न तयार रहेको दाबी गरे । पुरानो राजनीतिलाई बन्द गर्न रास्वपा उत्पन्न भएको उनको भनाइ छ । उनले विकासमा कर्णालीलई सधै उपेक्षामा पारेको बताए । 

‘विकासमा कर्णाली छुट्यो,' उनले भने, ‘तर कर्णालीले चुनेर पठाएका एकएकका परिवारको गोरु बेचेको साइनो परेको मान्छे सबैलाई पुगेको छ, कोही छुटेको छैन ।’ लामिछानेले पुराना नेताहरुले जितेर कर्णालीले के पायो भन्दै प्रश्न गरे । उनले आगामी ०८४ को चुनावमा घण्टी चिह्न बोक्दैमा कोही कसैले सजिलै जित्न नसक्ने बताए । उनले भने ‘घण्टी चिह्न बोक्न बित्तिकै जित्न सजिलो छ भन्ने लागेको छ होला, त्यति सजिलो छैन, तपाईं घण्टीसँगै जिम्मेवारी, जनताको एजेण्डा बोकेर पूरा गर्नुहोस् अनि तपाईंले जित्नुहुन्छ ।’ उनले पुरानो राजनीतिलाई बन्द गर्न रास्वपा उत्पन्न भएको बताए । 

लामिछानेले सरकारमा गएर गाली खाई खाई धेरै कुरा सिक्ने अवसर पाएको बताए । ‘अहिले सबैले सरकारमा किन सहभागी भएको भनेर गाली गर्नुहुन्छ,’ उनले भने, ‘गाली गर्नुहुन्छ ठिक छ, गाली गर्नुहोस् हामीले सरकारमा सहभागी भएर गाली खाइ खाइ धेरै कुरा सिक्ने अवसर पाएका छौं ।’

ताजा खबर

सम्बन्धित खबर