२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

विश्वप्रकाशको आँट, शेरबहादुरको विश्वास

ADV
अस्मिता बम
२०८१ भदौ १७ गते ०६:४०
विश्वप्रकाशको आँट, शेरबहादुरको विश्वास

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई पुनः प्रधानमन्त्री नबन्न आग्रह गरेका छन् । राष्ट्रपतिमा एक पटक, प्रधानमन्त्रीमा दुई पटक, सांसदमा चार पटक मात्रै अवसर पाउने पार्टी विधानको प्रस्तावकर्ता महामन्त्री शर्माले आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै यस्तो आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति छ । सहमति अनुसार पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । दोस्रो चरणमा कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी छ । 

एमालेसँगको सत्ता सहकार्यको सम्बन्धमा समेत छलफल भइराखेको केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले अब प्रधानमन्त्री नबन्न पार्टी सभापति देउवालाई आग्रह गरेका हुन् । 

शेरबहादुर देउवा यसअघि पाँच पटक प्रधानमन्त्री भइसके । अब फेरि प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवालाई पार्टीका महामन्त्रीले नै प्रधानमन्त्रीको दौडबाट आफू पछि हटेर अर्कोलाई अघि बढाउन भनेका हुन् । 

सभापति देउवा प्रधानमन्त्री नबनेर अर्को नेता कसैलाई प्रधानमन्त्री बनायो भने सभापतिको त्याग देखिने, अर्को समकालीन कोही नेताले नयाँ अवसर पाउने र आगामी चुनावमा नयाँ अनुहार लिएर चुनावमा जान सकिने बताए ।

शर्माका अनुसार डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा.शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये जसलाई पनि प्रधानमन्त्री बनाउन सकिन्छ ।

महामन्त्री शर्माले भनेका छन्, ‘एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई सफल बनाउन सम्पूर्ण ध्यान लगाउनुपर्छ । तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न ।’

महामन्त्रीले आफूलाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेता पनि सभापति देउवाले कुनै चुनौती महसुस गरेनन् । 

सभापति देउवाले नयाँ अनुहारमा २०८४ मात्रै पुगिने बताए । व्यक्तिले भनेर त्याग नहुने जवाफ फर्काए ।

नेताहरूका अनुसार सभापति देउवाले भनेका छन्, ‘तपाईंले भनेर मैले त्याग गर्ने हो त ? होइन । नयाँ अनुहारमा पुग्छौं यसमा चिन्तै लिनुपर्दैन । २०८४ पछि हामी नयाँ अनुहारमै पुग्छौं ।’ 

कांग्रेस नेताहरू महामन्त्री शर्माले पार्टी सभापतिलाई प्रधानमन्त्री नबन्न भन्ने आँट गरेको बताउँछन् । सभापतिले जे जस्तो प्रतिवाद गरेता पनि महामन्त्री शर्माले आँट गर्नु नै ठूलो विषय भएको बताउँछन् । 

तर, महामन्त्री शर्माको आग्रहलाई कम आँक्दै सभापति देउवाले आफ्नो दृढता पनि कायम राखेका छन् । 

महामन्त्री शर्माको अडानले एक्जिट पोलिसीको अवधारणालाई नै थाती राखिएको छ । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार महामन्त्री विश्वप्रकाश शर्माको एक्जीट पोलिसीका सम्बन्धमा निर्णय गर्न केन्द्रीय समितिले आवश्यक ठानेन । 

‘एक्जिट पोलिसीको सम्बन्धमा निर्णय गर्न केन्द्रीय समितिले आवश्यक ठानेन । यो संविधानको विषयवस्तु पनि हो’ महतले भनेका छन्, ‘हाम्रो पार्टीको मात्रै कुरा पनि भएन र समग्र संविधानमा व्यवस्था भएको हुनाले संविधान संशोधनका क्रममा यस विषयमा कसरी जानुपर्छ भनेर हामी छलफल र निर्णय गर्न सक्छौँ । यस किसिमबाट हामीले निर्णय गरेका छौँ ।’ 

महामन्त्रीको प्रस्तावबारे केन्द्रीय समिति बैठकमा चरणबद्ध रुपमा छलफलहरु भएका थिए । उक्त प्रतिवेदन पारित भएमा प्रधानमन्त्रीका लागि तयार रहेका सभापति शेरबहादुर देउवा नै अप्ठ्यारो पर्ने भएपछि उक्त विषयलाई कांग्रेसले थाती राखेको हो ।

कांग्रेसले एक्लै चुनाव लड्ने 

नेपाली कांग्रेसले आगामी निर्वाचन एक्लै लड्ने नीति लिने भएको छ । केन्द्रीय समिति बैठकले आगामी निर्वाचनमा एक्लै लड्ने गरी संगठन निर्माण गर्ने निर्णय लिएको हो ।

आइतबार सम्पन्न केन्द्रीय समिति बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समितिले आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्नेगरी संगठन निर्माण लाग्ने निर्णय भएको जानकारी दिए । 

महामन्त्री गगनकुमार थापाले गत फागुनमा सम्पन्न महासमिति बैठकमा एक्लै चुनाव लड्नेगरी राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही प्रतिवेदनको आधारमा केन्द्रीय समिति बैठकले निर्णय गरेको बताए । 

महामन्त्री थापाको प्रतिवेदनमा निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने लगायत विषय समेटिएको छ । उक्त प्रतिवेदनबारे गहन छलफल भएको प्रवक्ता महतले जानकारी लिदए । 

उनका अनुसार अहिले पार्टीलाई नै केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने,  पार्टीलाई एकीकृत गर्ने र पार्टी संगठनलाई बलियो बनाएर पार्टीको लोकप्रीयतालाई विस्तार गरेर एक्लै जित्नसक्ने परिस्थिति निर्माण गर्ने निर्णय भएको हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise