२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

अस्पताल भवन निर्माण नसकिँदा सेवा प्रवाहमा समस्या

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते १३:२१
अस्पताल भवन निर्माण नसकिँदा सेवा प्रवाहमा समस्या

कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण नसकिँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालको रुपमा रहेको सो अस्पतालको निर्माणाधीन भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ।

अस्पतालको भवन अधुरै हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले बताए । उनले भने, ‘निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माण ढिलाइ भएको छ । धनगढी बजारको मुख्य सडक विस्तारका क्रममा ओपीडी भवन भत्काउनु परेपछि भवन अभाव भएको हो । जसले गर्दा सेवा प्रवाहमा समस्या भएको छ ।’

सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइले ०७४ कात्तिकमा १३ करोड ६६ लाख ४९ हजार रुपैयाँमा अस्पतालको दुईतले भवन निर्माण गर्न रविना थेगिम जेभिसँग सम्झौता गरेको थियो । आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीका अनुसार सम्झौता बमोजिम ०७७ वैशाखमा भवन निर्माण सकिनुपर्ने हो ।

तर, निर्माण सुरु भएको ७ वर्ष बित्न लाग्दा पनि निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म भवन निर्माण सकिएको छैन । कलौनीका अनुसार हालसम्म भवन निर्माणको काम ८८ प्रतिशत मात्र पूरा भएको छ । ‘पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न भएको छैन । हाल छैँटौँ पटक म्याद थप गरिएको छ । विसं २०८१ चैतसम्म काम सक्ने गरी म्याद थप भएको हो’, सूचना अधिकारी कलौनीले भने, ‘हामी निर्माण कम्पनीलाई कारबाहीको प्रक्रियामा गइसकेका थियौँ । खरिद नियमावलीको १३औँ संशोधनले उहाँहरुलाई अन्तिम पटक मौका दियो, त्यसैले अहिले म्याद थप भएको छ ।’

भवनमा फिनिसिङ, अन्तिम रङ्गरोगन, इलेक्ट्रिकल बक्स लगाउने काम, मार्बल बिछ्याउने लगायतका काम बाँकी रहेको सूचना अधिकारी कलौनीले जानकारी दिए । एक वर्षदेखि अस्पतालले निर्माणाधीन अधुरो भवनका केही कोठाबाट बहिरंग सेवा सुरु गरेको छ । अधुरो भवनमा एमआरआई, सीटीस्क्यान, इन्डोस्कोपी सेवा दिइरहेकोमा केही समय अगाडि एमआरआईमा समस्या आएकाले उक्त सेवा हाल बन्द छ ।

भवनको अभावले अधुरो भवनबाट ओपिडीलगायतका सेवा सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले जानकारी दिए । ‘नयाँ भवन निर्माण सुरु भएको सात वर्ष बित्न लाग्दा पनि सम्पन्न भएको छैन् । भवन अभाव छ । बिरामीको चाप बढ्दो छ’, उनले भने, ‘दैनिक एक हजारदेखि एक हजार दुईसम्म बिरामी आउँछन् । तीन सयभन्दा बढीलाई भर्ना गरेर उपचार गर्नुपरेको छ ।’

उनले भवन अभावकै कारण आईसीयु (सघन उपचार कक्ष) आकस्मिक लगायतका सेवा प्रवाहमा समस्या भएको बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise