२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुनुहुँदैन’

ADV
मध्यान्ह
२०८१ भदौ १९ गते १७:२६
‘विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुनुहुँदैन’

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुन नहुने बताएका छन् ।

नेपाल प्राध्यापक सङ्घसँग आज भएको कार्यक्रममा नेता महरले सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयले देशभरका दर्जनौँ क्याम्पसलाई सम्बन्धन दिइरहेकोप्रति इङ्गित गर्दै पहिला विश्वविद्यालय आफैँमा व्यवस्थित हुनुपर्नेमा जोड दिए। 

“देशभित्र प्रादेशिक रुपमै विश्वविद्यालय खोल्ने लहर चलेको छ । प्रादेशिकस्तरमा खुलेका विश्वविद्यालयले लक्ष्य र उद्देश्य विमुख भएर सम्बन्धन वितरण गर्ने काम भइरहेको छ । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी घट्दै गएको अवस्थामा प्रादेशिक तहमा विश्वविद्यालय विस्तार गर्दै जानुको औचित्यमाथि प्रश्न उठेको छ”, उनले भने । नेता महरले आफ्नो क्षमता वृद्धि नगरी संरचना मात्र विस्तार गर्ने विषय उपयुक्त नहुने धारणा राखे । 

“राज्यले कति विश्वविद्यालय आवश्यक छन् भन्ने कुरा र विश्वविद्यालयले सम्बन्धनलगायत सवाललाई अगाडि बढाउँदा शिक्षा नीति एवं वर्तमान संविधानको उद्देश्य मनन् गरिनुपर्छ”, नेता महरले भने । लोककल्याणकारी राज्यमा शिक्षा राज्यको दायित्व भएकाले सोही अनुरुप सरोकारवाला अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 

विश्वविद्यालयको उद्देश्य मुलुकका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्नु भएकाले त्यसैमा केन्द्रित हुन उनले सुझाव दिए  । विद्यमान उच्च शिक्षा प्रणाली राज्यको दायित्वबाट बाहिर जान थालेको र विश्वविद्यालयबाट उत्पादित जनशक्ति विदेशीका लागि उत्पादन गरेजस्तो देखिएको नेता महरको टिप्पणी थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise