२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सरकारले सीमित स्रोतसाधनका बाबजुद जनपक्षीय काम गर्दै आएको छ : खानेपानीमन्त्री यादव

ADV
ध्रुव अधिकारी
२०८१ भदौ २३ गते १४:४५
सरकारले सीमित स्रोतसाधनका बाबजुद जनपक्षीय काम गर्दै आएको छ : खानेपानीमन्त्री यादव

वीरगञ्ज : खानेपानीमन्त्री प्रदिप यादवले पारदर्शिता, जवाफदेही र जनउत्तरदायीपूर्ण भएर सरकारले सीमित स्रोतसाधनका बाबजुद पनि जनपक्षीय काम गर्दै आएको दाबी गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा आइतबार जसपा क्षेत्रीय समितिद्वारा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खानेपानीमन्त्री यादवले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सहज सेवा प्रदान गर्नु रहेको बताए ।

जसपाका सहमहामन्त्रीसमेत रहेका मन्त्री यादवले जनताको सेवामा निरन्तर क्रियाशिल रहँदै वीरगञ्जको समृद्धि र विकासलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताए ।

उनले यस क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मधेशमा स्वास्थ्य, शिक्षा, विकास निर्माण, कृषि, पर्यटन उद्योगको समग्र विकासका लागि सरकारले ठोस कार्ययोजना बनाइरहेको समेत बताए । उनले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मधेश र मधेशी जनतालाई धोका दिएपछि सो पार्टीबाट बहुमत सदस्यहरु अलग्गिएर जनता समाजबादी पार्टी स्थापना गरिएको बताए ।

उनले जसपाको साझा अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याएर समुन्न्त मधेश र सुखी मधेशी बनाउने अभियानमा आफूहरु जुटेको बताए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जको नगवालगायतका क्षेत्रमा सुख्खायाममा खानेपानीको समस्या देखिएको हुँदा मन्त्री यादवकै निर्वाचन क्षेत्रभित्र पर्ने यस इलाकामा अब खानेपानीको समस्या समाधान हुने बताए । 

उनले वैभव वीरगञ्ज बनाउने अभियानमा सरकारबाट हुने सबै किसिमका सहयोगको अपेक्षा महानगरले गरेको बताउँदै आर्थिक तथा औद्योगिक नगरी वीरगञ्जलाई राजस्व उठाउने थलो मात्र नबनाउन संघीय सरकारलाई आग्रह गरे ।

जसपा वीरगञ्ज महानगर समितिका सचिव फरिद आलमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य लालदेव यादव, अरुण यादव, श्यामसुन्दर चौरसिया, माजिद मियाँ, मुस्तफा आलम, कलिम मियाँ, प्रभु चौरसियालगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise