२०८२ भदौ २८ गते शनिवार / Sep 13 , 2025 , Saturday
२०८२ भदौ २८ गते शनिवार
Ads

‘समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्नु हुँदैन’

shivam cement
मध्यान्ह
२०८१ भदौ २४ गते १६:४८
‘समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्नु हुँदैन’

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्न नहुने बताएका छन्। वर्तमान संविधानको मूल उद्देश्य जीवित राख्दै संविधान संशोधन गरिए मात्रै संविधान संशोधनमा सहयोग गर्ने उनले प्रस्ट पारे।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद तामाङले अहिलेको संविधानमा विद्यमान रहेका जनताका अधिकारलाई कुण्ठित गरेर ०४७ सालको संविधानतिर उन्मुख हुने कार्य कदापि मान्य नहुने बताए।

उनले भने, ‘यदि संविधान संशोधन नै गर्ने हो भने समानुपातिक निर्वाचन प्रणाली नै खारेज गर्ने गरी होइन, ०७२ सालको संविधानमा विद्यमान रहेका सबै भाव जीवित राख्नुपर्छ।’ 

सांसद तामाङले संविधानमा उल्लेख गरिएको संघीय गणतन्त्र, धर्मनिरपेक्षता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सबै संवैधानिक व्यवस्थाको प्रतिकूल नहुने गरी संविधान संशोधन गरिनुपर्नेमा जोड दिए।

साथै उनले कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी संविधान संशोधन गरेमा मात्रै आफ्नो पार्टीले समर्थन जनाउने प्रस्ट पारे।

ADV

सम्बन्धित खबर

Advertise