२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

नेपाल प्रहरीको ‘सई’ हुँ भन्दै १६ जिल्लामा ठगी गर्ने दुई जना पक्राउ

Nada
कुलेन्द्र शाही
२०८१ भदौ २५ गते ११:४१
Shares
नेपाल प्रहरीको ‘सई’ हुँ भन्दै १६ जिल्लामा ठगी गर्ने दुई जना पक्राउ

सुर्खेत : नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाको सई हुँ भन्दै विभिन्न १६ जिल्लामा ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–६ का २७ वर्षीय विकास बिसी र बाँके राप्ती सोनारी गाउँपालिका–७, बाँके घर भइ हाल लालपुर बस्दै आएका ३६ वर्षीय लोकबहादुर खाँण रहेका छन् ।

ncell

आफूहरु प्रहरीको सई भएको बताउँदै दैलेख, जाजरकोट, कालीकोट, सल्यान, भोजपुर, तेह्रथुम, मोरङ, रोल्पा, सुर्खेत, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँकेलगायत १६ जिल्लाका व्यक्तिहरुलाई ठगी गरेको सूचनाका आधारमा शुरुमा बिसी र त्यसपछि खाणलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा विभिन्न मुद्दा मिलाउने भन्दै ठगी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी सुनिल दाहालले जानकारी दिए । शुरुमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ का खगेन्द्र अधिकारी जबरजस्ती करणी मुद्दामा दैलेख कारागार थुनामा थिए । जबरजस्ती करणी र लागुऔषध मुद्दामा अदालतीय प्रक्रियामा जान मेडिकल परीक्षण रिर्पोट आवश्यक पर्छ । मेडिकल परीक्षणका लागि कर्णालीमा प्रयोगशाला छैन । त्यसैले खगेन्द्रको मेडिकल परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको थियो । मेडिकल रिर्पोटको आधारमै अदालतीय फैसला हुन्छ ।

रिर्पोट नेगेटिभ आए थुनामा रहेकाहरुले सफाइ पाउनसक्ने अवस्था अधिक हुन्छ । खगेन्द्रको स्वास्थ्य परीक्षण रिपोर्ट समयमै नआउँदा उनको मुद्दा लम्बिरहेको थियो । सोही क्रममा गत साउन २५ गते बिहान खगेन्द्रकी आमा तुलसी अधिकारीको मोबाइलमा एउटा अपरिचित नम्बरबाट फोन आउँछ । फोनमा एक व्यक्तिले आफ्नो नाम पूर्णबहादुर देउवा भएको र आफू विधि विज्ञान प्रयोगशाला काठमाडौं प्राविधिक प्रहरी नायव निरीक्षक (सई) भएको बताउँछन् ।

फोन गरेका व्यक्तिले आफूलाई प्रहरीको सई बताएपछि तुलसी झस्किइन् । ती व्यक्तिले फोनमै तुलसीलाई भनेका थिए, ‘तपाईंको छोराको परीक्षण प्रतिवेदन पठाइदिन्छु, तपाईंले मेरो लेखापाल विकास बिसीको नाममा रहेको एनएमबि बैंकको खातामा ५८ हजार रुपैयाँ जम्मा गर्दिनुहोस् ।’ छोराको परीक्षण प्रतिवेदन छिटो आउने आशामा तुलसीले छिमेकी भतिज नाता पर्ने केशवप्रसाद भट्टराईलाई ५८ हजार २ सय ३५ रुपैयाँ जम्मा गर्न लगाउँछिन् ।

तर महिना दिन बित्दा पनि परीक्षण रिपोर्ट आएन । तुलसीले जिल्ला प्रहरी कार्यालय दैलेखमा पूर्णबहादुर र विकासले ठगी गरेको भन्दै उनीहरूलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गर्दै जाहेरी दिइन् । तुलसीको जाहेरीपछि दैलेख प्रहरी र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ठगी गर्ने व्यक्तिहरूको अनुसन्धान थाल्यो । फोन ट्रेसिङ गर्दै जाँदा गत भदौ ५ गते दैलेख प्रहरीले लेखापाल बताउने खातावाला व्यक्ति बिसीलाई नियन्त्रणमा लिएको थियो ।

उनकै सहारामा प्रहरीले आफू प्रहरी ‘सई’ भएको भन्दै ठगी गर्ने खाँणलाई पक्राउ गरेको थियो । लोकबहादुरलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले भदौ १८ गते लेकवेशी नगरपालिका–२, दशरथपुरबाट पक्राउ गरेको हो । आफ्नो नाम बदलेर ठगी गर्दै आएका लोकबहादुर नै उक्त ठगी घटनाका मुख्य योजनाकार थिए । त्यसको मोहोरा विकास बनेको अनुसन्धानका क्रममा खुलेको डीएसपी दाहाल बताउँछन् ।

अनुसन्धान गर्दै जाँदा लोकबहादुरले १६ जिल्लाका १८ जना व्यक्तिलाई नक्कली सई बनेर ठगी गरेको पाइएको डीएसपी दाहालले बताए । हालसम्मको अनुसन्धानबाट विभिन्न जिल्लाका १८ जना व्यक्तिहरूबाट मुद्दा मिलाइदिन्छु भन्दै ५ लाख ६ हजार ५३५ रुपैयाँ ठगी गरेको खुल्न आएको उनले बताए ।

उनीहरूले विभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परीक्षण गर्नुपर्नेहरूको पहिचान गर्दै तीनका आफन्तहरूबाट पैसा असुल्दै आएका थिए । उनीहरूलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर