२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

'रूपान्तरित मनहरू' लोकार्पण

ADV
मध्यान्ह
२०८१ जेठ ३० गते ११:४०
'रूपान्तरित मनहरू' लोकार्पण

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा 'रूपान्तरित मनहरू' संयुक्त कविता संग्रहको लोकार्पण गरेका छन् । उक्त संग्रहमा महिलावादी साहित्यिक मञ्चमा सहभागी भएका मध्ये १३ जना कविले अभियानस्वरूप आआफ्ना कविता सग्रहित गरेका छन् ।

ती कविहरूमा रोशनीदेवी कार्की, प्रतिमा पन्थी, प्रतिमा शर्मा, धनकुमारी अर्याल, रिङ्कु वाग्ले, दिलकुमारी बुढामगर, शान्तालक्ष्मी श्रेष्ठ, सीता ओझा, पंकजा जोशी, पवित्रा पौडेल र भवानी पौडेल रहेका छन् ।

सो अवसरमा कुलपति राईले 'हजारौं वर्षदेखि पितृसत्ताले महिलामाथि लादेको विभेदको शृंखला लामो रहेको बताउँदै पूर्वीय सभ्यतामा महिलाको इतिहास लुकाएर अन्याय गरिँदै आएको बताए । उनले यसका विरुद्ध १३ जना कविद्वारा प्रतिरोधी धारलाई आत्मसात गर्दै 'रूपान्तरित मनहरू'मा अभिव्यक्त हुनु सुखद कुरा रहेको बताए ।

उक्त संग्रहबारेअतिथि वक्ताहरू प्रा.डा. सुधा त्रिपाठी, प्राज्ञ चेतनाथ धमला, डा.शैलजा पोखरेल, डा.रेणु अधिकारी, डा.रेणु थापा सोलु, विमला तुम्खेवा, प्रणीता कोयू, सरु जोशी श्रेष्ठ, युवराज काफ्ले र रजनी भिलाले आ-आफ्नो धारणा राखेका थिए ।

महिलावादी साहित्यिक मञ्चका तेस्रो संयोजक कवि शान्तालक्ष्मी श्रेष्ठको अध्यक्षता र मञ्चका दोस्रो संयोजक कवि रोशनीदेवी कार्कीले उद्घोषण गरेको उक्त कार्यक्रममा मञ्चका प्रथम संयोजक प्रतिमा शर्माले स्वागत मनतव्य राखेकी थिइन् ।

उक्त मञ्चको स्थापना भएक‍ो एक वर्ष पूरा भएको छ । यसको वैचारिक पक्ष 'साहित्यमा पितृसत्तात्मक भाष्य परिवर्तन' गर्नु रहेको छ । सामाजिक न्यायबाट बञ्चित रहेका महिला र तिनले भोग्नु परेका अनेकौं भूईँ उत्पीडन र हिंसाबाट मुक्त गर्ने उद्देश्यका साथ भर्चुअल माध्यमबाट आन्दोलन स्वरूप शुरु भएक‍ो शृंखलाबद्ध कविता वाचनको संयुक्त संग्रह 'रूपान्तरित मनहरू' प्रस्तावनाको रूपमा नेपाली साहित्यमा देखापरेको छ ।

उक्त संग्रहमा प्रज्ञा प्रतिष्ठानका कुलपति राईको शुभकामना,संविधानसभा सदस्य डा.विन्दा पाण्डेको भूमिका र सो मञ्चका चौथो संयोजक प्रतिमा पन्थीको अवधारणा रहेको छ । प्रस्तुत संग्रहका कविताहरूले प्राय: पितृसत्तात्मक यथास्थितिवादको विरुद्ध प्रतिरोधी चेतनालाई आत्मसात गरेको पाइन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise