काठमाडौं : देशको शिक्षा नीतिको प्ररम्भिक मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आगामी पुस ५ गते राष्ट्रिय सम्मेलन गरेर आयोगले तयार गरेको शिक्षा नीतिको प्ररम्भिक मस्यौदा सार्वजनिक गर्ने तयारी गरेको हो ।
सम्मेलनमा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाहरुलाई आमन्त्रण गर्ने मन्त्रालयको तयारी छ । 'हुन त यो सम्मेलन अघि हामीले लगभग सबै काम सकेका हुन्छौं, तर, यो सम्मेलनबाट आएका सुझाव समेत समेटेर आयोगको अन्तिम प्रतिवेदन तयार हुन्छ' आयोगका एक सदस्यले भने, 'सम्मेलनमा आयोगले तयार गरेको प्रतिवेदन प्रधानमन्त्रीबाट सार्वजनिक गरिने छ, यसले शिक्षा नीति तर्जुमा गर्ने कार्यलाई थप राष्ट्रिय बहसका रुपमा स्थापित गर्ने अपेक्षा गरिएको हो ।'
आयोग भित्र गठन भएका विभिन्न ८ वटा विषयगत समूह र अन्य सरोकारवालाबाट प्राप्त सुझाव समेटेर प्रतिवेदनको अन्तिम मस्यौदा लेखनको काम शुक्रबारबाट शुरु गर्ने आयोगको तयारी रहेको श्रोतले जनाएको छ । उक्त सम्मेलनको स्थान छनौट लगायत औपचारिक निर्णय पनि शुक्रबारकै बैठकले गर्ने जनाइएको छ ।
देशको बदलिदों संरचना र समय सुहाउँदो शिक्षा नीति तय गर्न ४ महिनाको म्याद सहित गठित आयोगको अवधि गत मंसिर १६ गते सकिए पनि काम नभ्याएको भन्दै ३७ दिन थप गरिएको थियो । यही थप समयमा आयोगका सदस्यहरु छुट्टा छुट्टै समूह बनाएर प्रदेश स्तरीय छलफलमा गएका थिए ।
अघिल्लो सरकारका शिक्षा मन्त्री गोपालमान श्रेष्ठले गठन गरेको शिक्षा आयोगलाई ओली नेतृत्वको सरकार गठन भए सँगै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पुर्नगठन गरेका थिए । अघिल्लो पटकको ६४ सदस्यीय आयोग भद्दा भएको भन्दै पोखरेलले गठन गरेको २४ सदस्यीय आयोगले प्रारम्भिक बाल शिक्षा देखि उच्च शिक्षा सम्मको समग्र शैक्षिक विषयका बारेमा नीतिगत सुझाव दिने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies