२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रास्वपाको नीति : संविधान मान्ने, प्रदेश नमान्ने

ADV
अस्मिता बम
२०८१ असोज ३ गते ०६:४५
रास्वपाको नीति : संविधान मान्ने, प्रदेश नमान्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने नीति लिने भएको छ ।

पार्टीको राष्ट्रिय भेलामा प्रतिवेदन प्रस्तुत गर्दै पार्टीका सभापति रवि लामिछानेले संविधान संशोधनमार्फत यस्तो व्यवस्था राखिनुपर्ने प्रस्ताव गरे । ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री । प्रधानमन्त्रीले विषयविज्ञ नेपाली नागरिकबाट मन्त्री छान्न पाउने व्यवस्था हुनुपर्छ’ उनले भने । 

नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेण्डा बनाइरहेका बेला संसदको चौथो ठूला दल रास्वपाले संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा आफूलाई उभ्याएको हो । रास्वपाले प्रदेश संरचना खारेज गर्नुपर्ने भनेको छ । साथै, स्थानीय तहमा संख्यामा कटौतीको प्रस्ताव गरेको छ ।

रास्वपा सभापति लामिछानेले प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिने विकल्पबारे छलफल सुरु गरिने बताए । 

‘प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषदलाई नै विधायकी अधिकार दिन सकिने उन्नत विकल्पबारे छलफल सुरु गरिने छ’ उनले भने, ‘स्थानीय तहहरूको संख्या भने पाँच सय मुनि झारिने छ ।’

अहिलेको संरचना बदलेर प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र ५ वटा मन्त्रालय राख्न सकिने विकल्पमा समेत छलफल गर्न सकिने उनको प्रस्ताव छ । अहिलेकै ढंगबाट बोझिलो प्रदेश संरचना राख्न कुनै हालतमा पनि स्वीकार गर्न नसकिने सभापति लामिछानेले दोहोर्‍याए । 

स्वतन्त्र, गैरदलीय राष्ट्रपति र राष्ट्रियसभाको अध्यक्ष नै उपराष्ट्रपति हुने रास्वपाको प्रस्ताव छ । यो रास्वपाको पुरानै प्रस्ताव हो ।

पूर्ण समानुपातिक निर्वाचनको पक्षमा उभिने र राष्ट्रियसभालाई गैरदलीय विद्धान सभा बनाउने पनि रास्वपाको प्रस्ताव छ । 

अहिलेको निर्वाचन प्रणालीले कहीँ नपुगिने जिकिर पनि उनले बताए । निर्वाचन प्रणाली पूर्णसमानुपातिक हुनुपर्ने उनको प्रस्ताव छ । विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक उमेदवार बनाउने पनि उनको घोषणा गरे । 

राष्ट्रिय भेलाले रास्वपाको राष्ट्रिय महाधिवेशनको समय पनि तय गरेको छ । आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । राष्ट्रिय भेलामा सभापति लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरे । त्यसअगाडि महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव पनि सभापति लामिछानेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise