२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

संविधानले समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गरेको छ : मुख्यमन्त्री शाह

ADV
मध्यान्ह
२०८१ असोज ३ गते १२:००
संविधानले समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गरेको छ : मुख्यमन्त्री शाह

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान संविधानले गरेका व्यवस्था र परिकल्पना अनुसारको अभ्यासमा मुलुक क्रियाशील रहेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा सुदूरपश्चिम प्रदेश मूल समारोह समितिले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले वर्तमान संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको छ भने। उनले नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बाल मताधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य जस्ता लोकतान्त्रिक मूल्य र मान्यताको जगमा दिगो शान्ति सुशासन विकास र समृद्धि प्राप्तिका लागि मार्ग प्रशस्त गरेको बताए।

मुख्यमन्त्री शाहले केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको स्थापनामा संघात्मक शासन प्रणालीको व्यवस्था गर्नु यो संघीयताको अर्को महत्त्वपूर्ण उपलब्धि रहेको छ भने। साझा शासन र सुशासनको उचित तालमेल मिलाई, सहकार्यता, सह अस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको दिगो व्यवस्थापन गर्न वर्तमान संविधानले दिशा निर्देश गरेको उनले उल्लेख गरे।

“नेपालको संविधानले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरेको व्यवस्था गरेको छ,” उनले भने, “यसअघिका संविधान भन्दा उन्नत मौलिक हकहरूको व्यवस्था गरी तिनीहरूको प्रभावकारी कार्यान्वयनका लागि दिशा निर्देश गर्नाका साथै राज्यका सबै निकायमा समावेशी, समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गरेको छ ।”

वर्तमान संविधानले नेपालको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल नहुने गरी संविधान संशोधन गर्ने मार्ग प्रशस्त गरेको स्पष्ट पारे।

सो अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले वर्तमान संविधानले सबै विभेद र उत्पीडनहरूको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ भने ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, सभामुख, उपसभामुख, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभाका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
 

ADVADV

सम्बन्धित खबर

Advertise