२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको छ : प्रचण्ड

shivam cement
२०८१ असोज ४ गते १२:१२
Shares
शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको छ : प्रचण्ड

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधिनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए ।

उनले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्त्वपूर्ण एजेन्डा हुनसक्ने बताए । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’– उनले भने– ‘तर अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको छ । हाम्रा पनि धेरै नेता साथीहरूले यो प्रस्ताव पार्टीभित्र छलफल गरौँ भनिरहनुभएको छ, म पनि यसमा छलफल खुला गर्ने पक्षमा छु, हामी पार्टीबाट नै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौँ ।’ 

आफूहरू केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यही बैठकबाट पनि एउटा प्रस्तावको रूपमा यसलाई लैजान सकिने पनि उनले जानकारी दिए । अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा अघि सार्न आवश्यक हुने उल्लेख गर्दै यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको बताए । उनले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

दाङका वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा अभियानको अध्यक्ष रहेका छन् । अभियानको तर्फबाट हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापन पत्र बुझाउँदै संयुक्त राष्ट्रसङ्घको महासभामा आवाज उठाउन आग्रह गरेको उपाध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिए । दाङबाट सुरु भएको यो अभियानले दाङ, लुम्बिनी र काठमाडौँमा विभिन्न समयमा विचार गोष्ठी गरिसकेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर