काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि बिहीबारका लागि तय भएको मतदान प्रक्रिया स्थिगत भएको छ ।
महाधिवेशनबाट अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका थिए । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । त्यसबाहेकका अन्य पदमा अन्य नेताहरूले उम्मेदवारी दिएका थिए । तर अन्तिममा सबै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
सबै पदमा सहमतिबाट पदाधिकारी चयनको जिम्मा महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष यादवलाई दिएका छन् ।
महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमै चयन गर्ने घोषणा गरे । उनले अब सहमतिमै टिम बनाउनुपर्छ भन्दै त्यसका लागि अनुमति मागे । त्यसपछि प्रतिनिधिहरूले ताली पिटेर अनुमति दिएका थिए ।
अब अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट पदाधिकारी चयन गर्नेछन् ।