२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ असोज ६ गते १५:१३
इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु

एजेन्सी : पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ ।

“तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई उद्धृत गरी जनाएको छ । यसअघि १९ जनाको मृत्यु भएको जनाइएको थियो ।

खानी रहेको दक्षिण खोरासान प्रान्तका गभर्नर जावाद घेनातले सरकारी टेलिभिजनलाई बताएअनुसार उद्धार टोलीले फसेका २२ जना कामदारलाई उद्धार गर्ने काम गरिरहेको छ ।

स्थानीय समयअनुसार शनिबार राति ९:०० बजे भएको विस्फोटमा परी अन्य १७ जना घाइते भएको इर्नाले जनाएको छ ।

मिथेन ग्याँसको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट भएको बताइएको छ ।

सरकारी टेलिभिजनले घाइतेलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स र हेलिकप्टर घटनास्थलमा पुगेको फुटेज प्रसारण गरेको छ ।

इर्नाले सार्वजनिक गरेको अनलाइन फुटेजमा केही पीडितको शव खानीको ठेलामा राखेर घटनास्थलबाट बाहिर निकालिएको देखिएको छ ।

न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रस्थान गर्नुअघि राष्ट्रपति मसूद पेजेस्कियानले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

“दुर्भाग्यबस, तबासको एउटा कोइला खानीमा एउटा दुर्घटना भएको छ र हाम्रा धेरै प्रियजनहरूले ज्यान गुमाएका छन्। म उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गर्दछु,” पेजेस्कियानले भने । 

इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा अरेफले ‘आपतकालीन फलोअप’ सुनिश्चित गर्न र पीडित र उनीहरूका परिवारका लागि सहयोग सुनिश्चित गर्न मन्त्रीपरिषद्का सदस्यहरूसँग कुराकानी गरेको इर्नाले जनाएको छ।

इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ।

गत वर्ष उत्तरी शहर दमघानमा रहेको कोइला खानीमा भएको विस्फोटमा परी छ जनाको मृत्यु भएको थियो भने सन् २०२१ को मे महिनामा सोही स्थानमा दुई जना कामदारको मृत्यु भएको थियो । 

सन् २०१७ मा उत्तरी इरानको आजाद शहरमा भएको विस्फोटमा ४३ जना कामदारको मृत्यु भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise