२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

गाजामा युद्धविराम गर्न कतार प्रतिबद्ध : प्रधानमन्त्री

ADV
तिलु शर्मा पौडेल
२०८१ जेठ ३१ गते १४:५१
गाजामा युद्धविराम गर्न कतार प्रतिबद्ध : प्रधानमन्त्री

दोहा, कतार : कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले गाजामा युद्धविराम, सबै कैदी र बन्धकहरूको रिहाइका लागि कतार प्रतिबद्ध रहेको बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । गाजामा जारी युद्ध र यसको अन्त्यका लागि विगत आठ महिनामा भएका महत्वपूर्ण छलफलका साथै हिंसा र द्वन्द्व रोक्नका लागि काम गर्ने विषयमा बैठकमा छलफल भएको प्रधानमन्त्री शेख मोहम्मदले बताए ।

युद्धविराम र कैदी रिहाइसम्बन्धी कतारले राखेको पछिल्लो प्रस्तावका सम्बन्धमा हमास र प्यालेस्टाइनीले कतारलाई दिएका जवाफका बारेमा आफूले अमेरिकी विदेशमन्त्रीसँग छलफल गरेको उनले बताए । अहिले जवाफको अध्ययन भइरहेको र आगामी कदमका लागि सम्बन्धित पक्षसँग समन्वय भइरहेको उनले बताए । कतार, इजिप्ट र संयुक्त राज्य अमेरिका युद्धको अन्त्य गर्दै कैदी र बन्धकलाई छुटाउने सम्झौतामा पुग्न प्रतिबद्ध रहेको कुरामा उनले जोड दिए ।  उनले अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्भव भएसम्म सबै पक्षको दृष्टिकोणलाई समेट्ने गरी प्रस्तावसम्म पुग्न कतारले गरेको प्रयासको प्रशंसा गरेको बताए ।

कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले दुवै पक्षबीचको दुरी कम गर्न कतार प्रतिबद्ध रहेको र युद्धलाई यथाशीघ्र अन्त्य गरी समाधान गर्न निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए । उनले हरेक दिन नागरिक र निर्दोष मानिसको ज्यान जाने गरेको बताए । युद्धको अन्त्यका लागि सबैले स्पष्ट अडान लिनुपर्ने बताउँदै युद्धको शुरुवातदेखि अहिलेसम्म लगभग ३७ हजार शहीद भएको र ८४ हजार घाइते भएको जानकारी दिए । अमेरिकाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा पेस गरेको प्रस्तावमा तत्काल युद्धविराम, बन्धक र कैदीहरूको रिहाइका लागि सम्झौता गर्न र दिगो समाधान खोज्न राजनीतिक वार्तामा फर्कन आह्वान गरिएको जनाए ।

जोर्डनका राजा अब्दुल्लाह द्वितीय, इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको संयुक्त निमन्त्रणामा मंगलबार दोहामा आयोजित 'कल फर एक्सन: अर्जेन्ट ह्युमेनिटेरियन रेस्पोन्स फर गाजा' सम्मेलनमा उनले उक्त कुराहरू बताएका हुन् । उनले गाजामा अमेरिकी हवाई सहायता पुनः शुरु भएकोमा प्रशंसा गरे । पत्रकारहरूको प्रश्नको जवाफमा अल थानीले वार्ता प्रक्रियामा कतारको प्रयास नयाँ नभएको स्मरण गर्दै दुबै पक्षबीचको दुरी कम गर्न कतार प्रतिबद्ध रहेको दोहोर्‍याए । विशेषगरी विभिन्न इजरायली अधिकारीहरूको विरोधाभास बयानलाई ध्यानमा राख्दै युद्धविरामका लागि दबाब दिन उनले आह्वान गरे । मध्यस्थकर्ताको हैसियतले कतारले एक पक्षलाई फाइदा पुर्‍याउन नभइ दुरीको खाडल पुर्न प्रयास गर्ने र गरिरहेको उनको भनाइ थियो । प्यालेस्टिनी जनतालाई उनीहरूको अधिकार प्राप्तिका लागि समर्थन गर्ने कतारको नीति स्पष्ट रहेको बताउँदै उनले कतार राजनीतिक दल नभइ राज्य रहेको बताए ।

कतारले ४ हजार ७ सय टन खाद्यान्न र औषधिका साथै अन्य अत्यावश्यक सहायता उपलब्ध गराउँदै अतिआवश्यक परेका मानिसहरूलाई सहयोग गर्न ठूलो उदारता देखाएको भन्दै अमेरिकी विदेशमन्त्री ब्लिन्केनले कतारको प्रशंसा गरे । उनले नागरिकको सुरक्षामा सुधार ल्याउन र बन्धकहरूको रिहाइका लागि युद्धविराममा गर्नुपर्ने धारणा व्यक्त गरे । पत्रकार सम्मेलनमा उनले गाजा छोड्न सफल प्यालेस्टिनीहरूबाट आफूले धेरै कथाहरू सुनेको, त्यहाँका आफ्ना परिवार र नातेदारहरूको अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै यस दुःखको अन्त्य गर्न, द्वन्द्व अन्त्य गर्न र सबैलाई न्यायपूर्ण र स्थायी शान्तिको मार्गमा ल्याउन आवश्यक रहेको बताए ।

साथै विदेशमन्त्री ब्लिन्केनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग बुधबार लुसेल प्यालेसमा भेटवार्ता गरेका छन् । भेटमा दुई मित्र राष्ट्रबीचको घनिष्ठ सम्बन्धका साथै विभिन्न क्षेत्रमा सहयोग र विकासका बारेमा छलफल भएको जनाइएको छ । क्षेत्रीय, अन्तर्राष्ट्रिय घटनाक्रमहरू, मुख्यतया गाजापट्टी र कब्जा गरिएको प्यालेस्टीनी क्षेत्रहरूमा विकासका साथै तत्काल युद्धविराममा पुग्न र गाजापट्टीमा मानवीय सहायताका बारेमा छलफल भएको थियो । उक्त बैठकमा कतारका प्रधानमन्त्रीसमेत सहभागी भएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise