२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

अनुत्तरदायी राजनीतिको परिणाम

ADV
२०८१ असोज ८ गते ०६:३०
अनुत्तरदायी राजनीतिको परिणाम

विद्युतीय कारोबार ऐन बिपरीतको कसुरमा मेडिकल व्यापारी दुर्गा प्रसाईं पक्राउ परेपछि यो विषय जबर्जस्त चासोमा छ । मुलुकको सिंगो ध्यान खिच्न उनी सफल छन् । आमसञ्चार माध्यम, सामाजिक सञ्जाल, सार्वजनिक स्थलदेखि राजनीतिक नेतृत्वमा समेत उनकै कुरा भइरहेको छ । एउटा ब्यापारीलाई विद्युतीय कारोबार ऐन बिपरीतको कसुरमा सतात्दा यति ठूलो पंक्तिले चासोका साथ हेर्नुमा प्रसाईं आफैले बनाएको व्यक्तित्व कारण हो । त्यसैले सार्वजनिक अपराध जस्तो आरोपमा पक्राउ परेर हिरासतमा राखिएका व्यक्तिबारे मुुलुकै चासो छ । यदि उनको व्यक्तित्व सामान्य हुने थियो भने एउटी महिलामाथि गम्भीर सार्वजनिक आरोप लगाउँदा पनि उसकै चर्चा हुनुपर्ने होइन । प्रसाईंमाथि जस्तो आरोप लागेको छ, त्यसबारे धेरै छलफल गरिरहनु आवश्यक नपर्ने हो । किनकि प्रसाईंले कुनै राष्ट्रिय महत्वको राजनीतिक अभिव्यक्ति दिएका होइन । 

तर प्रसाई विद्यमान समाजका निम्ति एउटा विम्व नै बनेका छन् । उनी कहिले बैंकको ऋण नतिर्न आह्वान गर्छन् भने कहिले ट्याक्सी ब्यावसायीलाई सडकमा उतार्छन् । गत वर्ष मंसिरमा त गणतान्त्रिक व्यवस्था नै उल्ट्याएर राजतन्त्र पुनस्र्थापना गर्ने भनेर राजधानी उपत्यकामा जनप्रदर्शन गरेका थिए । त्यो उनको झुट प्रदर्शन थियो । किनकि त्यो प्रदर्शनमा आएकाहरुको वास्तविक माग लघुवित्तको मिटर ब्याजबाट उन्मुक्ति पाउनु थियो । मिटरब्याजका पीडितहरुलाई झुटो प्रलोभन देखाएर प्रसाईंले राजतन्त्र पुनस्र्थापनाको आन्दोलनमा सहभागी गराएका थिए । झुक्याएर चलाइएको त्यो आन्दोलन त्यसै सेलाएर गयो । यसपछि पूर्वराजाविरुद्धकै अभिव्यक्तिमा उत्रन थाले । हरेकजसो सार्वजनिक चासोमा आफैले चलाएका युट्यूबमार्फत् बोलिरहे, मनमौजी । अप्ठ्यारोमा परेका केहीलाई उद्दार गरेको देखाएर उनी आममानिसको ध्यान खिच्न थाले । 

यसरी एउटा ब्यावसायीले सिंगो मुलुकको ध्यान तान्ने परिस्थिति भने वर्तमान राजनीतिक नेतृत्वकै कारण सिर्जना भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँगसँगै बसेर खाना खाएको तस्वीरबाट प्रसाई चिनिन थालेका थिए । अझ प्रसाईं त्यस्ता ब्यावसायी थिए, जसका विरुद्ध डा.गोविन्द केसी निरन्तर अनशनमा थिए । निस्वार्थ आजीवन सेवामा रहेका केसीको अनशनका कारण प्रसाईंको मेडिकल कलेजले सम्बन्धन पाउन सकेको थिएन । तर तिनै प्रसाईले ओली र प्रचण्ड सँगसँगै खाना खाएको तस्वीर सार्वजनिक हुँदा आमनागरिकको ध्यान तानिएको थियो । पछि ओलीले प्रसाईंलाई केन्द्रीय समिति सदस्य र उद्योग विभागको उपप्रमुख नै मनोनीत गरे । यसरी ओली र प्रचण्डकै काँधमा टेकेर आमनागरिकबीच परिचित बनेका दुर्गा प्रसाईं आज सरकारका निम्ति प्रमुख चुनौती बनेको देखिन्छ । किनकि प्रसाईंले नेताहरुमाथि दिइरहेको निन्दनीय र अराजक भाषामा ठूलै पंक्ति तयार भइसकेको देखिन्छ । अर्थात् उनी राज्यकै समस्या बनिरहेका छन्, र सरकारलाई यो समस्या हल सजिलो बनिरहेको छैन । 

ADVADV

सम्बन्धित खबर

Advertise