२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

बढ्दो महिला हिंसाले जन्माएको प्रश्न

ADV
२०८१ असोज १० गते ०६:२०
बढ्दो महिला हिंसाले जन्माएको प्रश्न

–शोभा अधिकारी

पछिल्लो समय महिला हिंसा एक संवेदनशील र गम्भीर सामाजिक समस्या बन्न पुगेको छ । नेपाललगायत विश्वभर नै डरलाग्दा महिला हिंसा र हत्याका घटना दिन प्रतिदिन बाहिर आइरहेका छन् । यसले समाजको नैतिकता, कानुनी व्यवस्था र मानव अधिकारलाई चुनौती दिएको छ । बलात्कार, हत्या, अपमान, घरेलु हिंसा र अन्य प्रकारका दुर्व्यवहारहरूले महिलाको जीवनलाई प्रत्यक्ष रूपमा असर पुर्‍याएको छ । महिला हिंसा र हत्याका घटनाहरू बढ्दै जानुका कारणहरू विभिन्न छन् । हाम्रो समाजमा अझै पनि पुरुषलाई महिलाभन्दा उच्च स्थानमा राख्ने पितृसत्तात्मक सोच हाबी छ । महिलालाई पुरुषभन्दा कमजोर, अधीनस्थ र नियन्त्रण गर्ने मानसिकताले महिला हिंसा बढेको छ । समाजमा महिलालाई सम्पत्ति वा वस्तुका रूपमा हेर्ने प्रवृत्तिले हिंसालाई मलजल गरेको छ । महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर नभएर पुरुषहरूमा निर्भर हुँदा र अशिक्षाको कारण उनीहरूको सामाजिक र पारिवारिक स्थिति कमजोर हुन्छ । कमजोर आर्थिक स्थितिका कारण त्यहाँ झैझगडा, बेमेल र द्वन्द्वका कारणले पनि महिलाहरू माथि हिंसा हुने गर्दछ । ग्रामीण क्षेत्रमा अझै पनि महिलाहरू शिक्षाको पहुँचबाट वञ्चित छन् । 

केही सांस्कृतिक परम्पराहरूले महिलाहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गर्दछन् । धेरै समाजमा महिलामाथि हुने हिंसालाई सामान्य र सहज रूपमा लिइन्छ र त्यसलाई परम्परागत रूपमा मान्यता दिने गरिएको छ । श्रीमान–श्रीमतीको झगडा परालको आगो जस्तै हो भने झै झगडा, कुटपिट, अन्य अत्याचार महिलामाथि हुँदा पनि सामान्य मानिन्छ । यस्तो सामाजिक व्यवहारले पनि समस्यालाई अझ गम्भीर बनाएको छ । 

अर्को प्रमुख कारण कानुनी कार्यान्वयनमा कमजोरी पनि हो । कानुनहरू बनेका भए पनि ती कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, दोषीलाई सजाय नहुनुले महिला हिंसालाई बढवा दिइरहेको छ । महिलामाथि हुने हिंसा र हत्याका घटना न्यूनीकरण र रोकथामका उपायहरू छिटोभन्दा छिटो अवलम्बन गर्नुपर्ने आजको आवश्यकता हो । कानुन बाहिर मात्र पुगेर हुँदैन, महिला हिंसा वृद्धि भएका कानुनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता देखिन्छ । महिलामाथि भएका सबै प्रकारका अपराधका दोषीहरूलाई कडा सजायको व्यवस्था गरी कानुनी कठघरामा उभ्याउनु पर्दछ । दोषी कुनै पनि रूपमा उम्कने वातावरण सिर्जना हुन दिनु हुँदैन । हिंसाका घटनाहरूमा छिटोछरितो कानुनी प्रक्रिया पूरा गरी पीडितलाई न्याय दिलाउन सबै पक्षबाट सहयोग र ध्यान दिनुपर्छ । पीडितले तुरुन्त न्याय पाउन सक्ने कानुनी सहायता र सुरक्षा प्रणाली सुनिश्चित गर्नुपर्दछ ।

महिला हिंसा रोक्नका लागि महिलाहरूलाई प्राथमिकता दिँदा उनीहरूले आफ्नो अधिकारको पहिचान गर्न सक्छन् । हिंसा, अन्याय, अत्याचारविरुद्ध लड्न सक्षम हुन्छन् । महिलालाई रोजगारीका अवसर र सीपमूलक तालिमहरू दिएर आर्थिक रूपमा सक्षम र सबल बनाउनुपर्छ । आर्थिक सशक्तीकरणले महिलाहरूको मनोबल वृद्धि भई हिंसाविरुद्ध आवाज उठाउन सक्छन् । सबै खाले हिंसाविरुद्ध व्यापक सामाजिक जागरण अभियान आवश्यक छ । टोल, गाउँ, नगर, विद्यालय र सार्वजनिक ठाउँहरूमा महिला हिंसाविरुद्धका जनचेतनामूलक कार्यक्रम चलाएर समाजलाई शिक्षित बनाउनुपर्छ । मिडिया, कला, साहित्य र सामाजिक संस्थाहरूको माध्यमबाट महिला हिंसाको प्रभावकारी चेतना फैलाउन सकिन्छ । महिला हिंसा समुदायको ठुलो समस्या हो । यसलाई समाधान गर्न समुदायको सक्रिय भूमिकाको आवश्यकता छ । सामाजिक, धार्मिक र राजनीतिक नेताहरूले हिंसाविरुद्ध एकजुट भएर बोल्नुपर्छ । स्थानीय तह र समुदायमा हिंसाका घटनालाई रिपोर्ट गर्न र तुरुन्तै कारबाही गर्न सहकार्य गर्नुपर्छ । 

हिंसाका सिकार भएका महिलाहरूलाई मनोवैज्ञानिक, कानुनी र सामाजिक सहयोग प्रदान गर्न सरकार र गैरसरकारी संस्थाहरूले पुनस्र्थापनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ । सङ्कटमा परेका महिलाहरूलाई आश्रय, कानुनी सहायता तथा पुनर्स्थापनाको व्यवस्था गर्न आवश्यक छ । हिंसा भएको सूचना परिवार र समाजमा आएपछि पीडित र पीडकलाई सँगै राखेर मेलमिलाप गराउँदा खतरा हुन सक्छ । त्यसैले बढी नै संवेदनशील भएका हिंसाका घटनामा पीडित र पीडकलाई सँगै राख्न मिल्दैन । महिला हिंसाविरुद्ध प्रविधिको प्रभावकारी प्रयोग हुनसक्छ । आपत्कालीन अवस्थामा महिलाहरूलाई मद्दत पुर्‍याउन र प्रहरी तथा अन्य सहायता सेवासम्म पुग्न सहज बनाउन मोबाइल एपहरू, हेल्प लाइनहरू र डिजिटल प्लेटफर्महरू सञ्चालन गर्न सकिन्छ । महिला हिंसाका दोषीलाई कडा सजाय दिनुपर्छ, ताकि यसले अन्यलाई चेतावनीको काम गरोस् । हिंसामा संलग्नलाई कानुनको डर हुन आवश्यक छ । बोक्सी, दाइजो र छाउपडी प्रथाजस्ता हानिकारक सांस्कृतिक परम्पराहरू अन्त्य गर्न स्थानीय स्तरमा जनचेतना कार्यक्रमहरू चलाउन जरुरी छ । 

(अधिकारी, नेपाली काँग्रेसकी नेतृ हुन् ।)

ADVADV

सम्बन्धित खबर

Advertise