२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

स–साना उदाहरण

ADV
२०८१ असोज १० गते ०६:३०
स–साना उदाहरण

कैलालीको धनगढी उपमहानगरपालिकाले मंगलबार किसानहरुका लागि सूचना जारी गरेको छ । त्यो सूचना वडावडा पुगेर नगर प्रहरीहरुले सम्प्रेषण गरेका थिए । सूचना थियो, काटिसकेका धानहरु तत्काल भित्र्याउनू र नकाटेको भए तत्काल नकाट्नू । जल तथा मौसम विज्ञान विभागले केही दिन भारी वर्षाको संभावना रहेको सूचना जारी गरेपछि धनगढी उपमहानगरपालिकाले किसानहरुलाई यस्तो अनुरोध गरेको हो । झट्ट हेर्दा यो ठूलो काम होइन । तर किसानहरुका निम्ति अर्थपूर्ण सूचना हो । मौसम पूर्वानुमानबारे समाचार नसुनेका किसानहरुले काटिसकेको धान भित्र्याउन र नकाटेका भए केही दिन रोक्न उपमहानगरको सूचनाले सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । मंगलबार यस्तै अर्को सानो सूचना समाचार बनेर सञ्चार माध्यमहरुमा आयो । बाँके राप्ती सोनारी गाउँपालिका–६ का किसानहरुले यो दशैंमा २५० खसीबोका बेच्दैछन् । नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी मार्फत् यहाँका महिलाहरुले खसीबोका तयार पारेका हुन् । 

कैलाली र बाँकेका यी दुई काम जस्तै पर्वतको महाशिला गाउँपालिकामा पनि अनुकरणीय अभ्यास भइरहेको छ । यो पालिकाले गाउँ बस्नेगरी फर्केर आउनेहरुलाई विशेष राहतको व्यवस्था गरिरहेको छ । कसैले गाउँमै फर्केर बस्ने योजना बनाए पालिका एक लाख रुपैयाँ अनुदान र ६ महिना पुग्ने खाद्यन्न दिदै आएको छ । धनगढी उपमहानगर पालिकाले तत्कालीन संकट समाधानका निम्ति माइकिङ गरेको थियो भने बाँकी सोनारीमा महिलाहरुले आत्मनिर्भर बन्न सानै भएपनि संगठित व्यवसाय गरेका थिए । पर्वतको महाशिलामा भने अवसरको खोजीमा गाउँ छोड्ने प्रवृत्ति रोक्न विशेष प्याकेज ल्याउन खोजेको देखिन्छ । किनकि गाउँबाट शहर र शहरबाट देश छोड्ने प्रवृत्ति पर्वतमा मात्र छैन । यो समस्या सिंगो पहाडी क्षेत्र र देशकै हो । त्यसैले महाशिला गाउँपालिकाको सानै काम पनि अर्थपूर्ण छ । 

अनि यी तीन पालिकाको उदाहरण मार्फत् आम समस्या समाधानको मार्ग प्रशस्त गर्न सकिन्छ । झट्ट हेर्दा मात्र यही कामहरु साना हुन् । संभावित खतराबाट नागरिकलाई सचेत गराउने, आत्मनिर्भर भएर बाँच्ने अनि बदलिदो जनसांख्यिक संरचनालाई रोक्ने यी तीन उदाहरण सिंगो मुलुककै समस्या समाधान हो । यस्ता कामहरु मार्फत् नागरिकमा सरकारको अनुभूति गराउन सकिन्छ । विशेषगरी स्थानीय सरकारले जनताको पक्षमा काम गरिरहेको अनुभूति दिलाउनु आज मुलुककै आवश्यकता हो । यस्ता सानै प्रयत्नबाट नागरिकमा राजनीतिप्रति बढिरहेको बितृष्णा रोक्न सकिन्छ । नागरिकलाई आत्मनिर्भर र समृद्धि बनाउन सकिन्छ । अर्थात् मुलुक बनाउने ठूला कुराले मात्र परिवर्तन हुँदैन । हेर्दा सानो लाग्ने प्रयत्नहरुबाटै नागरिकको जीवन परिवर्तन गराउन सकिन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise