२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

काठमाडौंमा मौलिक रैथाने लोकनृत्य कार्यशाला जारी

Nada
२०८१ असोज ११ गते १९:१४
Shares
काठमाडौंमा मौलिक रैथाने लोकनृत्य कार्यशाला जारी

काठमाडौं : काठमाडौंमा बिहीबारबाट त्रिदिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवम् बृहत् सांस्कृतिक संगोष्ठी २०८१’ शुरु भएको छ । यो संगोष्ठीले शनिबार बेलुकासम्म जारी रहने छ । राष्ट्रिय नृत्य संघ नेपालले यो कार्यशाला आयोजना गरेको हो ।

ncell

गोष्ठीमा शुक्रबार मगर समुदायको जिवैमामा नाचको प्रशिक्षण दिइएको थियो । बिहान १० बजेबाट बेलुका ५ बजेसम्म चलेको प्रशिक्षणमा देशका विभिन्न क्षेत्रबाट आएका ६ दर्जन भन्दा बढी नृत्यकलाकार तथा नृत्य प्रशिक्षकहरुले यो नृत्य सिके । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् वरिष्ठ नृत्य निर्देशक गोरे गुरुङ र नृत्य निर्देशक भिम मास्के रानाले मगर समुदायको जिवैमामा लोकनाचको प्रशिक्षण दिएका हुन् । 

‘जिवैमामा चाहिँ मगरसमुदायको जीवनशैलीमा आधारित लोकनाच हो । गायनमा एक पछि अर्को गर्दै चार चरणको गीत प्रस्तुतिसँगै नृत्य पनि चार चरणमा गरिन्छ र हरेक चरणको नृत्य प्रस्तुत फरक रहन्छ,’ नृत्य निर्देशक रानाले शुक्रबार प्रशिक्षणका क्रममा बताए । 

कार्यशालाको उद्घाटन बिहीबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले गरेकी हुन् । रैथाने नृत्य प्रशिक्षणका लागि देशका विभिन्न कुनाबाट कलाकारहरु काठमाडौं आएकोमा उनीहरुको स्वागत गर्दै यस्ता प्रशिक्षणले लोकनाचको संरक्षणमा योगदान पुग्ने शर्माले बताइन् । एकै थलोमा नृत्य कलाकारहरुले पूर्वको साकेला र गण्डकी प्रदेशको जिवैमामा नाच सिक्नु प्रशंसनीय कार्य भएको पनि उनले बताइन् ।

काठमाडौंको शंखमुलमा जारी यो कार्यशालामा पहिलो दिन बिहीबार धरानका नगेन्द्र राईले साकेला नाच सिकाए । लोकनृत्य प्रशिक्षक नगेन्द्र राईले बिहीबार दिनभर राई समुदायको साकेला नाच सिकाउँदा प्रशिक्षार्थीहरु निकै उत्साहित देखिए । 

नृत्य कार्यशाला आयोजना गरिएको राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले पछिल्लो समय आधुनिक सिक्न सहज भए पनि रैथाने नाचहरु हराउँदै गएकाले यस्ता नृत्य कलाकारले सिक्नुपर्छ भनेर यो कार्यशाला आयोजना गरेको बताए । उनका अनुसार शनिबार यो कार्यशालामा लोकनृत्यको बारे बहस र छलफल गरिने छ । सो छलफलमा उठेका कुराहरुलाई कार्यपत्रको रुपमा तयार गरेर सरकारलाई बुझाउने पनि गोदारले बताए ।

ताजा खबर

सम्बन्धित खबर