काठमाडौं : दुई प्यानलमा विभाजित भई नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा होमिएका वैदेशिक रोजगार व्यवसायीका उम्मेदवारहरुले आफ्नो पक्षलाई विजयी गराएमा लामो समयदेखि व्यवसायीले झेल्दै आएका समस्या समाधान गर्ने दावी गरेका छन् ।
असोज ७ गते हुने संघको २७ औं साधारणसभा तथा निर्वाचनका लागि नेपाली काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायीहरु नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्व अध्यक्ष विष्णु गैरे तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम निकट व्यवसायीहरु प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संस्थापक अध्यक्ष तथा संघका महासचिव सरोज कुमार पोखरेलको नेतृत्व चुनावी मैदानमा उत्रिएका छन् ।
अध्यक्षसहित सात पदाधिकारी र दश जना कार्यसमिति सदस्यका लागि ३४ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । सबै उम्मेदवारहरुले सामाजिक सञ्जाल र व्यक्तिगत सम्पर्कमार्फत मत मागिरहेका छन् । संघद्वारा गठित निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टंक राउतका अनुसार सोमबार साँझ ५ बजेसम्म मात्र औपचारिक कार्यक्रम गरी आफ्नो र प्यानलको पक्षमा प्रचार प्रसार गरेर मत माग्न पाइने छ ।
अध्यक्षका प्रत्यासी विष्णु गैरे नेतृत्वको प्यानलले पार्टी प्रतिनिधि पूर्व श्रम तथा रोजगार मन्त्री तथा नेपाली काँग्रेस केन्द्रिय सदस्य रमेश लेखकको प्रमुख आतिथ्यतामा आइतबार राजधानीको सामाखुशीमा सो क्षेत्रका सम्पूर्ण व्यवसायीहरुलाई भेला गराई क्षेत्रीय भेला सम्पन्न गरेको छ भने सरोज कुमार पोखरेल नेतृत्वको प्यानलले धुम्वाराहीमा क्षेत्रीय भेला गरी आफ्नो पक्षका उम्मेदवारहरुलाई जिताउन व्यवसायीहरुसँग आग्रह गरेकोे छ । निर्वाचनमा प्यानलगत छुट्टाछुट्टै कार्यक्रम गरेपनि अधिकांश व्यवसायी दुवै कार्यक्रममा पुगी उम्मेदवारहरुका प्रतिवद्धता सुनेका छन् । उम्मेदवारसँगै मतदाता व्यवसायीहरुको चलायमान प्रवृतिले संघको चुनावी प्रतिस्पर्धालाई रोचक र पेचिलो बनाएको देखिएको छ ।
फोरमले आइतबार सामाखुशीमा आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं पूर्व श्रम मन्त्री रमेश लेखकले नेकपाको दुई तिहाईको सरकारले देश र संघमा दुईतिहाई पद जितेकोे प्रगतिशील मञ्च निकटका व्यवसायीहरुले व्यवसाय बर्वाद पारेको आरोप लगाउँदै प्रजातन्त्र र प्रतिस्पर्धामा विश्वास राख्ने व्यवसायीहरुले विजयी हासिल गरे मात्र देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको वैदेशिक रोजगार व्यवसाय सुरक्षित रहने भन्दै विष्णु गैरे प्यानलका उम्मेदवारहरुलाई मतदान गर्न व्यवसायीहरुलाई आग्रह गरे । शुक्रवार जस्तै व्यवसायी र कामदारको सुरक्षाका लागि आवश्यकता परेमा संसदको रोष्टम घेरेर भएपनि निकास निकाल्ने पूर्व मन्त्री लेखकले दावी गरे ।
अध्यक्षका उम्मेदवार गैरेले संघको नेतृत्वमा दुईतिहाई मत दिएर व्यवसायीहरुले प्रगतिशील प्यानललाई जिताएपनि संघको नेतृत्व दुईवर्षसम्म जालझेल गरेर व्यवसायीको हित विरुद्ध लागेकोले अब व्यवसाय बचाउन लोकतान्त्रिक प्यानललाई मतदान गर्न आग्रह गरे । उनले फोरमका उम्मेदवारहरुलाई संघको नेतृत्वमा विजयी गराए कार्यतालिका बनाएर ठोस योजना सहित काम गर्ने बताए ।
कार्यक्रममा उम्मेदवारहरुले आ–आफ्ना प्रतिवद्धता व्यक्त गरेका थिए । निर्वाचन परीचालन मूल आयोजकको संयोजक रानाभाटको संयोजकत्वमा भएको कार्यक्रममा संघ तथा फोरमका पूर्व अध्यक्ष विमल ढकाल, फोरमका पूर्व अध्यक्षहरु किरन किशोर घिमिरे, प्रज्ञान न्यौपाने लगायतले घोषित उम्मेदवारहरुलाई विजयका लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम फोरमका महासचिव तारानाथ अर्यालले कार्यक्रमको संचालन गरेका थिए ।
संयुक्त व्यवसायिक समूहका क्षेत्रिय भेलालाई संबोधन गर्दै अध्यक्ष उम्मेदवार सरोज पोखरेलले चुनौतीपूर्ण अवस्थाबाट गुज्रीरहेको वैदेशिक रोजगार व्यवसायलाई संकटबाट मुक्त गर्न आफ्नो नेतृत्वको प्यानललाई विजयी गराउनुपर्ने धारणा राखे ।
संघको वर्तमान नेतृत्व वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गर्न लागि परेकोले त्यसको निरन्तरता स्वरुप आफ्नो प्यानललाई जिताउनुपर्ने भन्दै अध्यक्षका उम्मेदवार पोखरेलले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी प्रस्ताव गरिएको अवस्थामा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीलाई पटक पटक भेटेर तीनवटा समुहमा नगद धरौटी र बैंक ग्यारेन्टीको व्यवस्था गराएको बताए ।
विरोधी प्यानलले औचित्यहीन आरोप प्रत्योपमा उत्रिएको भन्दै पोखरेलले वैदेशिक रोजगार व्यवसायीहरुले १० हजार सेवा शुल्कमा कामदार पठाउन नसक्ने कामदार पनि १० हजार जान नसक्ने भएकाले सरकारी निकाय वैदेशिक रोजगार विभागले अनुगमनका नाममा व्यवसायीको कार्यालयमा छापा मार्नु गलत रहेको बताए ।
आफ्नो प्यानलले संघको नेतृत्व पाए बैदेशिक रोजगारीमा देखिएका यावत समस्याको समाधानमा अहोरात्र खटिएर व्यवसायीको हितमा काम गर्ने बताए । उनले ईजाजतपत्र नवीकरणका लागि पछिल्ला दुई आर्थिकवर्षमा एक एक सयजना कामदार पठाउनुपर्ने भनी वैदेशिक रोजगार (पाँचौ संशोधन) नियमावली २०७६ मा ल्याइएको व्यवस्था प्रचलित कानून विपरित रहेकोले त्यसलाई संशोधन गरी सच्चाउन आन्दोलनका लागि पछि नपर्ने बताए ।
प्रथम उपाध्यक्ष हरि बहादुर पाण्डे क्षेत्रीले संघको व्यवसायीहरुले राजनितक आस्थालाई भन्दा व्यवसायिक हितलाई ध्यानमा राखेर मतदान गर्न आग्रह गरे । कार्यक्रममा साँसद किसन श्रेष्ठ, वैदेशिक रोजगार फाँटका ईन्चार्ज श्रीप्रसाद साह, सहयन्चार्ज लक्ष्मणपन्त, संघका पूर्व अध्यक्ष बल वहादुर तामाङ लगायतले संवोधन गर्दै पोखरेल प्यानलले जितेमा मात्र वैदेशिक रोजगारका क्षेत्रमा व्यवसायीहरुले झेलीरहेका समस्याहरुको समाधान हुने दावी गरे ।
कार्यक्रममा वैदेशिक रोजगार तमु समाज, वैदेशिक रोजगार मगर समाज, वैदेशिक रोजगार तराई मधेश समाज, वैदेशिक रोजगार विश्वकर्मा समाज, वैदेशिक रोजगार सामाखुशी एकता समिति, वैदेशिक रोजगार मुस्लिम समाज, वैदेशिक रोजगार नेवा समाज, वैदेशिक रोजगार राई योयाक्खा समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies