२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

मुटुरोगको जोखिम र जोगिने उपाय

ADV
२०८१ असोज १४ गते ०६:२५
मुटुरोगको जोखिम र जोगिने उपाय

–डा. ओममूर्ति अनिल

विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ । खासगरी युवापुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले हुने मृत्यु नेपालजस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरूमा हुने गर्दछन् । नेपाललगायत दक्षिण एसियाली राष्ट्रहरूमा युवामा मुटुरोगको प्रकोप बर्सेनि बढ्दै गएको देखिन्छ । केही वर्षअघिको तथ्याङ्कअनुसार विकसित राष्ट्रहरूमा हार्टअट्याक (हृदयाघात) हुने औसत उमेर ६० वर्ष भने तापनि अविकसित राष्ट्रहरूमा १० वर्ष अगाडि हुने देखाएको छ । भारतमा हृदयाघात हुने औसत उमेर ५० वर्षको हाराहारीमा रहेको देखाएको छ भने दुई तिहाइ मृत्यु कम उमेरका व्यक्तिहरूलाई हुने गरेको अनुसन्धानबाट देखिन्छ । विश्वव्यापी रूपमै वातावरणीय प्रदूषणका कारण पनि मुटुरोग समस्या बढिरहेको पाइन्छ ।

अस्वस्थ खानपिन, शारीरिक निष्क्रियता, मानसिक तनाव, मोटोपना र नियमित स्वास्थ्य जाँच नगर्नु, चुरोट र अत्यधिक मदिरा सेवन युवाहरूमा हुने मुटुरोगको प्रमुख कारणको रूपमा लिन सकिन्छ । धेरै चिल्लो, धेरै पिरो, धेरै गुलियो तथा गुलिया पेयपदार्थहरूको सेवन गर्ने चलनले पनि उच्च रक्तचापको समस्या बढेको विभिन्न अनुसन्धानहरूले पुष्टि गरेको छ । अधिकांश युवाहरूमा मुटुरोगप्रतिको सचेतना अझै आउन सकेको देखिँदैन । आधुनिकीकरणले अस्वस्थ जीवनशैली बढिरहेको देखिन्छ । युवाहरूमा यो समस्या बढी देखिनुको मुख्य कारणहरूमा शारीरिक व्यायाम नगर्ने, मदिरा चुरोटको सेवन बढी गर्ने, स्वास्थ्य जाँच नगर्ने, औषधि खान नचाहने आदि प्रमुख कारण हुन् । युवाहरू मानसिक तनावको सिकार पनि बढी भएको र यसले पनि मुटुरोगको समस्यालाई बढाएको देखिन्छ । अध्ययन अनुसन्धानले ९० प्रतिशत हृदयाघात रोकथाम गर्न मिल्ने बताउँछ । आजको परिस्थितिमा युवाहरूले मुटुरोग र हृदयाघातबाट बच्न लिनुपर्ने निम्न पाँच व्यावहारिक सावधानीहरूमा ध्यान दिनु आवश्यक छ ।

अधिकांश युवाहरूमा कुनै न कुनै किसिमको मुटुरोगका कारणहरू अदृश्यरूपमा रहेको १० वर्ष अगाडि गरिएको अनुसन्धानमा देखिएको थियो । अनुसन्धानको क्रममा अधिकांश युवाहरूले मलाई मुटुरोगको कुनै लक्षण नै छैन, किन जाँच गर्नुप¥यो भन्ने धारणा राखेका थिए । त्यही गलत धारणा र भ्रममा पर्दा समयमै आफूभित्र उक्त रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रलजस्ता समस्याहरू भएको थाहा पाउन सकेनन् र पछि एक्कासि जटिल समस्या भोग्नुपरेको देखिन्छ । त्यसैले समय अनुकूल बाहिर केही रोगको लक्षण नदेखिए तापनि स्वास्थ्य जाँच गरेकामा मुटुरोगको जटिलताबाट बच्न सकिन्छ । 

हाम्रो अनुभवमा सहरी भेगमा बसोबास गर्ने ४० वर्षमुनिका युवाहरूमा मुटुरोगका कारणका लागि औषधिको सेवन गर्नुपर्ने देखिन्छ तर यति कम उमेरमा औषधि सेवन गर्न हुन्न भन्ने भ्रममा परी चिकित्सकको सल्लाह विपरीत औषधि सेवन नगरेर स्वास्थ्य दुर्घटना हुने गरेको पाइन्छ । समयमै औषधिको प्रयोग महत्व बुझी यस्ता दुर्घटनाबाट जोगिन सकिन्छ । औषधिको साइडइफेक्टका बारेमा भ्रम पालेर चाहिने अवस्थामा पनि सेवन नगरी हताहत भएको रोगले युवा अवस्थामै जटिलतामा प्रवेश गरेको अनेकौँ उदाहरण छन् ।

हाम्रो समाजमा असंख्य युवा चुरोटको सेवन गर्दछन् । चुरोटको कुल तुरुन्तै केही हानि गरेको नदेखेता पनि यसले अदृश्य रूपमा मुटुमा असर गरिरहेको हुन्छ । एक÷दुई खिल्लीले पनि पछि गएर मुटु रोगको जोखिम निम्त्याउन सक्ने तथ्यबाट अभिज्ञ भएको देखिन्छ । बिग्रिँदो जीवनशैलीले गर्दा अधिकांश युवाहरूमा जङ्कफुट÷फास्टफुड अर्थात् तयारी (पत्रु) खाना र घर बाहिरको खाने गरेको देखिन्छ । इच्छा वा बाध्यताले जेले भए पनि यसको दुरगामी असरबाट बच्न गाह्रो छ । दुर्भाग्यवश अधिकांश युवाले फास्टफुडको सेवनले स्वास्थ्य र मुटु रोगको प्रकोपलाई नजरअन्दाज गरेको देखिन्छ । समयमै यस्तो खालको खाद्य संस्कृतिमा सुधार गरी आफ्नै घरमा बनाएको स्वास्थ्यकर खाना खाने संस्कार विकास गर्नु आवश्यक छ । 

बिरामी व्यक्ति, औषधि सेवन गर्ने व्यक्ति र वृद्ध व्यक्तिले मात्र बिहानको हिँडाइ वा नियमित व्यायाम गर्नुपर्ने जनधारणा भएको हामी पाउँछौँ । त्यसैले होला आधुनिक युगमा शारीरिक रूपमा निष्क्रिय र मोटोपनको सिकार भएका विचार किशोर र युवाहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ । आधुनिकताले निकट भविष्यमा यसको सङ्ख्या घट्ने देखिँदैन । कुनै प्रकारको नियमित शारीरिक गतिविधिमा आफूलाई संलग्न गर्नुपर्छ । खेलकुद, साइकल, पौडी, योगा, अभ्यास, जुम्बा आदि जे गरे पनि हुन्छ । आफ्नो परिस्थिति अनुकूल व्यायाम रोज्न सक्नुपर्छ । मुटु रोगको थालनी पहिले ४० वर्षमै भइसक्ने विभिन्न अध्ययन अनुसन्धानले देखाउँछ । 

अन्त्यमा, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले यसतर्फ सबै सचेत हुन आवश्यक छ । स्वस्थ आहार र व्यायामले नै शरीरका अङ्गहरूलाई स्वस्थ राख्न मद्दत गर्दछ । वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरूलाई स्वस्थ आहार भनिन्छ । फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर र अन्य पदार्थहरूले रक्त नली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise