२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

मन बिझाउने बोली

ADV
मध्यान्ह
२०८१ असोज १५ गते ०७:२३
मन बिझाउने बोली

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै बाढी पहिरो पीडितहरुबारे धमाधम निर्णय भएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न गत ४ असोजमा प्रधानमन्त्री ओली अमेरिका गएका थिए । उनी अमेरिका रहेका बेला गत शुक्रबार निवासकारी बाढी, पहिरो र डुबान भयो । ५४ वर्ष यताकै उच्च वर्षा हुँदा झण्डै दुई सय हाराहारी नागरिकको मृत्यु भयो भने ४२ जना बेपत्ता छन् । घाइतेहरुको संख्या एकिन छैन । उद्धार गरिएकाहरुको संख्या ठूलो छ । यद्यपि उद्धार कार्य पूरा हुन सकेको छैन । राजधानी उपत्यका एकप्रकारले नाकाबन्दीकै अवस्थामा छ । राजधानी जोड्ने सबै सडकखण्ड क्षतिग्रस्त बनेकाले आयात रोकिएकाले महँगी बढेको छ । रोशी खोलाको बाढीले बीपी राजमार्ग क्षतिग्रस्त बनाउँदा तीन हजार बढी यात्रु अलपत्र छन् । 

मुलुक यति ठूलो संकटमा पर्दा समेत प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण छोट्याएका थिएनन् । देशमा आकस्मिक संकट पर्दा प्रधानमन्त्री ओली अमेरिकास्थित विश्वविद्यालयहरुमा प्रश्नोत्तर गरिरहेका थिए । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले तत्काल गर्नुपर्ने कुनैपनि निर्णय गराउन सकेका थिएनन् । उद्धार कार्यमै सरकार अल्मलिएको थियो । तर भ्रमण पुरा गरेर प्रधानमन्त्री सोमबार (१४ असोजमा) स्वदेश फर्किए लगत्तै बाढी पहिरोको संकट समाधानबारे निर्णय लिएका छन् । मन्त्रिपरिषद् बैठक राखेर तीन दिन शोक मनाउने, एक अर्व रुपैयाँ राहत कोषमा राख्ने, मन्त्रीहरुले एक महिनाको तलब दिने लगायत निर्णय गरिएको छ । अर्थात् तत्काल गरिनुपर्ने काम चार दिनपछि भएको छ । 

उल्टै प्रधानमन्त्री ओलीले आफ्नो आलोचना गर्नेहरुप्रति चर्को टिप्पणी गरेका छन् । संकटका बेला विरोधका लागि बिरोध मात्र गरिएको उनको भनाइ थियो । जबकी प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको आह्वान गर्नुपर्ने हो । संकटको समाधानमा सरकारलाई सहयोग गर्न अपिल गरिनुपर्ने हो । राजनीतिक दलहरु, सामाजिक संस्थाहरु, नागरिक समाजहरु, प्रदेश र स्थानीय सरकारहरुसँग आवश्यक सहयोगको हात अगाडि बढाउनुपर्ने हो । तर देश संकटमा हुँदा समेत अमेरिकाका विश्वविद्यालयहरुमा अन्तरक्रिया गरेर बस्ने प्रधानमन्त्रीले विमानस्थलबाटै चेतावनीको भाषा बोल्नु राम्रो होइन । प्रधानमन्त्रीको चेतावनीले वर्तमान सरकार जनताप्रति उत्तरदायी नरहेको सन्देश जान्छ । संकटमा प्रधानमन्त्री गम्भीर नरहेर राजनीतिक अभिव्यक्ति दिइरहेको अर्थ लाग्छ । त्यसैले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर सहकार्यको हात अगाडि बढाउन जरुरी छ । बीपी राजमार्गमा अलपत्र परेकाहरुको तत्काल उद्धार गरेर राहत र पुनर्स्थापनामा जुट्न आवश्यक छ । 

ADVADV

सम्बन्धित खबर

Advertise