२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

राष्ट्रिय सहमतिको खाँचो

ADV
२०८१ असोज १६ गते ०६:२५
राष्ट्रिय सहमतिको खाँचो

बाढी पहिरो पीडितहरुको उद्धार, राहत र अस्थायी पुनस्र्थापनामा भइरहेको विलम्बप्रति आलोचनाप्रति आक्रोश पोखेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अभिव्यक्ति सच्याएका छन् । सोमबार अमेरिकाबाट फर्कने क्रममा प्रधानमन्त्री ओलीले उद्धार कार्यलाई लिएर विरोधका लागि मात्रै विरोध गरिएको टिप्पणी गरेका थिए । तर मंगलबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले आवश्यक तयारी हुन नसकेको स्वीकारेका छन् । बिहीबार र शुक्रबार भएको अत्याधिक वर्षाबारे पूर्वानुमान र आवश्यक पूर्वतयारी गर्न नसकिएको प्रधानमन्त्री ओलीले स्वीकारेका हुन् । नेपालका सन्दर्भमा पूर्व प्रतिकार्य कमाण्ड सधैं समस्याका रुपमा रहेको पनि प्रधानमन्त्रीको स्वीकारोक्ति थियो । महाभूकम्प र कोरोनाको उदाहरण दिएर प्रधानमन्त्री ओलीले संभावित क्षतिबारे पूर्वतयारी गर्न नसकिएको बताएका थिए । यसपटक पनि सोचे भन्दा धेरै वर्षा हुँदा ठूलो मानवीय एवं भौतिक संरचनामा क्षति पुगेको प्रधानमन्त्रीले बताएका छन् । 

मंगलबारको पत्रकार सम्मेलनपछि सरकारबारे अवधारणा नै परिवर्तन भएको छ । किनकि प्रधानमन्त्री ओलीले सरकारबाट भएको कमजोरी स्वीकार्दै उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणको खाका प्रस्तुत गरेका छन् । मन्त्रीहरु, मुख्यसचिव र सचिवहरु सहित पत्रकार सम्मेलनमा उपस्थित प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव समेत गरेका छन् । मानवीय क्षति बाहेक १३ अर्ब बढीको नोक्सानी पुगेको हिसाब प्रस्तुत गरेका प्रधानमन्त्रीले राष्ट्रिय एकता भए फेरि पहिलेकै अवस्थामा पुग्न सकिने विश्वास व्यक्त गरेका थिए । स्थानीय नागरिक, राजनीतिक दलहरु, सामाजिक संघसंस्था र राज्यका निकायहरुबीच समन्वयमा प्रधानमन्त्रीले जोड दिएका छन् । त्यसैले मंगलबारको पत्रकार सम्मेलनपछि सरकारलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको निष्कर्ष प्रस्तुत गरिएको हो । किनकि त्यति ठूलो क्षतिपछि चार दिनसम्म अलमलमा देखिएको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले प्रश्न गर्नेहरुमाथि उल्टै प्रश्न उठाएका थिए । 

तर प्रधानमन्त्रीले आफ्नो कोर्स सच्याएकाले अब अरु पक्षको काँधमा जिम्मेवारी आएको छ । विशेषगरी दलहरुबीच एकताबद्ध आवश्यक छ । अरु एजेण्डामा पक्ष र प्रतिपक्षी भएपनि संकट समाधानमा सहकार्य जरुरी हुन्छ । विगतका नजीरहरु हेर्दा अप्ठ्यारो परिस्थितिमा सिंगो समाज एक ढिक्का बनेको कयौं उदाहरण पाउन भेटाउन सकिन्छ । २०७२ को महाभूकम्प पछि उत्पन्न परिस्थितिमा दलहरु मिलेर संविधान नै जारी गरेका थिए । भारतीय नाकाबन्दी खेप्न र सीमा अतिक्रमण हुँदा एउटै स्वरमा संविधान संशोधन भएको थियो । कोरोनाविरुद्ध लड्ने क्रममा केही समस्या देखिए पनि नागरिकको जीवन रक्षाको सवालमा सबै एक ठाउँ थिए । फेरि दशैंको मुखमा बाढी पहिरोको संकट आइलागेको छ । यो संकटविरुद्ध जुध्न दलहरु काँधमा काँध मिलाएर जुट्न जरुरी छ । अलगअलग स्वयंसेवक परिचालनको निर्णय गरेपनि सबै दलको समान उद्देश्य छ, पीडितहरुको पुनस्र्थापना । त्यसैले संकट समाधानमा सरकारकै नेतृत्वमा सम्पूर्ण समाज एकताबद्ध भएर उभिदा गुणात्मक नतिजा आउन सक्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise