२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

बाढी, पहिरोले पीडितलाई राहत उपलब्ध नगराएको सरकार ‘नालायक’ भयो : प्रभु साह

ADV
मध्यान्ह
२०८१ असोज २१ गते १९:३६
बाढी, पहिरोले पीडितलाई राहत उपलब्ध नगराएको सरकार ‘नालायक’ भयो : प्रभु साह

काठमाडौं : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले बर्षासंगैको बाढीपहिरोले पीडितलाई सरकारले राहत उपलब्ध नगराएको भन्दै सरकारलाई ‘नालायक’ भएको टिप्पणी गरेका छन् । 

दशैं, दिपावली एवम् छठ पर्वको शुभ अवसरमा रौतहटको फतुवाबिजयपुर नगरपालिकाको बैरगनियामा आज आजपाद्धारा आयोजित भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा सहभागि साहले बाढीपहिरोबाट पीडितको उद्धारमा सरकारले ढिलाई गरेकाले अमूल्य जनधनको ठूलो क्षति भएको बताए । 

‘सरकारले समयमै पीडितको उद्धार गरेको भए सयौं मान्छेको मृत्यु हुँदैन थियो । अर्बौंको क्षति हुँदैन थियो । उद्धारका लागि छटपटाइरहेका पीडितहरु अहिले राहतका लागि पर्खिरहेका छन् । तर पीडितको उद्धारमा असफल र असक्षम रहेको सरकार कता छ, खोज्नुपर्ने अवस्था छ’ आजपा अध्यक्ष साहले भने, ‘किसानले लगाएको बाली घर भित्रयाउने बेलामा बाढीले क्षति भएको छ । सर्वसधारण किसान बिहान बेलुका के खाने, कहाँ बस्ने ठेगान छैन् । तर सरकार अतिरिक्त तलब लिएर खसी काटेर दशैंको भोजमा रमाईरहेको छ । सर्वसधारणको बारेमा सोच्ने, बोल्ने, राहत दिने उनीहरुलाई फुर्सद नै छैन ।’ 

बाढी पहिरोमा परी अमूल्य जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै उनले राहत वितरणमा ढिलाइ नगर्न सरकारलाई सुझाव दिएका छन् । पूर्वसूचना हुँदाहुँदै समेत सरकारले विपतको बेलामा गर्नुपर्ने तयारी नगरेको र उद्धार प्रभावकारी रुपमा नगरेकाले बढी क्षति हुन गएको उनले बताए । 

बाढी पहिरोले विभिन्न राजमार्ग अवरुद्ध छ । सडकमा यात्रा गर्न सहज नभएको बताउँदै उनले सरकारी संरक्षणमै यातायातको भाडामा मनोमानी रुपमा लुट मचाइएको बताए । बाढीपहिरोले पीडित नेपाली नागरिक महंगीले थप पिडामा परेको बताउँदै आजपा अध्यक्ष साहले महंगी नियन्त्रण गर्न नसकेको सरकार पूर्णरुपमा असफल र असक्षम रहेको टिप्पणी गरेका छन् । 

‘सरकारी संरक्षणमै व्यापारीले लुट मचाएका छन् । यातायातका भाडामा मनोमानी रुपमा यात्रुबाट लुटिदैछ । यहाँ सरकार नै नभएको जस्तो छ । सरकार भएको भए यसलाई नियन्त्रण गर्थ्यो, सहज बनाउथ्यो’ आजपा अध्यक्ष साहले भने, ‘पशुपति शर्माको गित जस्तै भएको छ यहाँ, लुटन सके लुट कान्छा, नेपालमै छ छुट....।’

सांसद समेत रहेका आजपा अध्यक्ष साहले यस अघि चाडपर्व वापतको दिइने दशैं बोनस रोकेर बाढीपहिरो पीडितलाई दिनुपर्ने सुझाव दिएका थिए । ‘सरकारी मान्छे जनताको करबाट तलब खाने तर जनताको दुखको बेला साथ नदिने । भाग्ने, भगौडाहरु दशैमा जनताकै पैसाबाट खसी काटेर रमाउन खोज्नु कतिको जाय हो ? बाढीपहिरो पीडितहरु दुखमा परेको बेला दशै बोनस नलिई पीडितलाई दिदा के बिग्रिन्थ्यो ?’ उनले प्रश्न गरेका छन् । 

सरकारले देशैभरीका कर्मचारीलाई चाडपर्व वापत दिने एक महिनाको अतिरिक्त रकम ३० अर्बभन्दा बढी हुने भएकाले त्यो रकमले बाढीपहिरो पीडितको घर निर्माण, खाना लगायतका क्षेत्रमा खर्च गर्दा राम्रो हुने सुझाव उनले दिएका छन् ।

कार्यक्रममा आजपाका नेताहरु पूर्वसंसद समीना हुसेन, महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, मेयर प्रत्याशी विजय यादव, वाडाध्यक्ष सञ्जय यादवलगायतको विशेष सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise