२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

पार्टीमा पेलिँदै रावल

ADV
मध्यान्ह
२०८१ असोज २२ गते ०६:३५
पार्टीमा पेलिँदै रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावललाई पार्टीले सामाजिक सञ्जालमा लेख्दा ख्याल गर्न भनेको छ । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले सोमबार विज्ञप्ति निकालेर भ्रम नफैलाउन भनेका हुन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटको विषयलाई लिएर रावलले सामाजिक सञ्जालमा लेखेपछि जैसीले विज्ञप्ति निकालेर रावलले भ्रम फैलाएको आरोप लगाएका हुन् । 

‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बीचमा भ्रम नछर्न चेतावनी दिन चाहन्छु,’ अध्यक्ष जैसीले विज्ञप्तिमा लेखेका छन् । 

गत महाधिवेशनमा रावल केपी शर्मा ओलीसँग अध्यक्षमा चुनाव लडेका थिए । ओलीले आफूसँग चुनाव नलड्न भनेका थिए । नमानेर रावलले अध्यक्षमा प्रतिस्प्रर्धा गरेपनि उनी निरन्तर पार्टीमा जिम्मेवार बिहिन रहँदै आएका छन् । 

सोमबार प्रदेश अध्यक्षले समेत विज्ञप्ति निकालर रावलले लेनिनवादी संगठनात्मक सिद्धान्तसँग मेल नखाने गरी अनावश्यक रूपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरी लेखेको आरोप लगाएका हुन् । 

केही समय पहिले एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले दिएको अभिव्यक्तिबारे रावलले सामाजिक सञ्जालमा खण्डन गरेका थिए । रावलले सामाजिक सञ्जालमा लेखेपछि पार्टी प्रदेश अध्यक्ष जैसीले विज्ञप्ति निकालेर त्यसो नगर्न चेतावनी दिएका हुन् । 

‘पार्टी तथा विभिन्न मोर्चामा पाँच दशक लामो यात्रा गर्नुहुने र पार्टी तथा सरकारको उच्च ओहोदामा काम गर्ने अवसर र अनुभव प्राप्त व्यक्तिले पार्टी र आन्दोलनको पक्षमा मात्रै वकालत गर्न आन्दोलन गर्दै यस्तै गतिविधि बढ्दै गए तपाईंप्रतिको कार्यकर्ताको विश्वास झन् झन् टुट्दै जाने विषयको समेत ध्यानाकर्षण गराउन चाहन्छु,’ अध्यक्ष जैसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

जैसीले विज्ञप्तिमार्फत ‘सम्पूर्ण पार्टी पङ्क्ति एकताबद्ध हुन तथा भ्रममा नपर्न अपिल’ गरेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise