२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

मौसमजस्तै देशको राजनीति परिवर्तन भइरहेको छ : माधव नेपाल

ADV
लेखनाथ सिकारु
२०८१ कार्तिक ५ गते १३:०६
मौसमजस्तै देशको राजनीति परिवर्तन भइरहेको छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको राजनीति मौसमजस्तै अदलबदल भइरहेको बताएका छन् ।  

कञ्चनपुरको बेदकोट नगरपालिका-८ गैलनदी बैजनाथ माध्यामिक विद्यालयको प्राङ्गणमा नेपाल बुद्धिचाल महासंघ, काठमाडौं स्पोर्ट्स एकेडेमी र बेदकोट नगरपालिका ८ नम्बर वडाको संयुक्त आयोजनामा शुरु भएको बुद्धिचाल प्रतियोगिताको उद्‌घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देशको राजनीति पनि मौसम जस्तै भएको बताए ।  

'बिहानको मौसम हेर्‍यो , घाम लाग्ला जस्तो हुन्छ, पानी पर्ला जस्तो भए चर्को घाम लाग्छ, उनले भने, ‘नेपालको राजनीति पनि त्यस्तै छ, अब यो होला, भन्यो, त्यो टिक्दैन, अर्को त जाला एक वर्ष भन्यो, जाँदैन, टिक्ला कि क्या हो, पाँच वर्ष भन्यो, टिक्दैन, मौसम परिर्वतन जस्तै देशको राजनीति परिर्वतन भइरहेकाले त्यसको असर देशमा परिरहेको छ।’ 

अध्यक्ष नेपालले सबैले जनताले चाहेअनुरूप विकास भन्ने भएपनि राजनीतिक अस्थिरताले विकासमा प्रभाव पारेको बताए । उनले उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै धार्मिक पर्यटनको वृद्धि विकासबाट अर्थतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए । उनले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सकरार गम्भीर हुनुपर्नेउनले बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री एनपि साउद, प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भानुभक्त जोशी, प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दिर्घ सोडारी र पूर्वउपसभामुख भोजराज जोशी, नेपाल बुद्धिचाल संघका उपाध्यक्ष धिरेन बोगटीलगायतको उपस्थिति थियो ।

राष्ट्रिय बुद्धिचाल संघ नेपालका अध्यक्ष तथा काठमाडौं स्पोर्टस एकेडेमीका अध्यक्ष नारायण दास गमालको संयोजकत्वमा सञ्चालन‌ गरिने प्रतियोगिताको सभापतित्व वेदकोट नगरपालिका-८ का वडाध्यक्ष महेश राज जोशीले गरेका थिए । 

स्विस लिग प्रणालीमा ५ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ७१ जनाको सहभागिता छ । प्रतियोगितामा राष्ट्रिय च्याम्पियन राजन सुवेदी, पूर्वराष्ट्रिय च्याम्पियन रुपेश जैसवाल, नविन तण्डुकार, महिला च्याम्पियन सिन्दिरा जोशीको पनि सहभागिता रहेको छ ।

प्रतियोगितामा हंगेरी ओल्मपियाड टोलीका सम्पूर्ण १० सदस्य, अघिल्लो संस्करणको नेशनल र्‍यापिड च्याम्पियनसिपका विजेता ३ खेलाडी, १ जना शीर्ष महिला र हालका उच्चतम फिडे रेटिङ भ‌एका १ १ जना खेलाडीहरूलाई दर्ता तथा सुविधा सम्पन्न होटलमा खान र बस्ने सुविधा नि:शसल्क गरिएको गमालले जानकारी दिएका छन् ।

व्यावसायिक खेलकुदको अवधारणालाई देशव्यापीरुपमा स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामार्फत प्रतिभावान एवम् सक्षम खेलाडी उत्पादन गरी समृद्ध समाजको परिकल्पनालाई साकार पार्ने र खेलकुदमार्फत राष्ट्रिय सद्भाव अभिवृद्धि गरी आपसी भाइचाराको सम्बन्धलाई अझै कसिलो बनाउँदै समाजवादको लक्ष्यतर्फ अघि बढ्न सकिनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई ६० हजारसहित २५ जना पुरस्कृत हुनेछन् । त्यस्तै दोस्रो राष्ट्रिय र्‍यापिड च्याम्पियनसिपमा प्रथम हुनेलाई ३० हजारसहित २० जना पुरस्कृत हुनेछन् भने प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल प्रतियोगितामा प्रथम हुनेलाई २५ हजारसहित २० जना पुरस्कृत हुने छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise