२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री दाहाल

ADV
मध्यान्ह
२०८१ जेठ २१ गते १५:३५
सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताएका छन् । सिंहदरबारमा आज बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशंका, उपशंका नगर्न आग्रह गरे ।

वर्तमान सत्ता समीकरणमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राखेको जिज्ञाशामा प्रधानमन्त्री दाहालले भने, “सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।”

आफूले पनि केही दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै उनले दलका नेताहरुबीच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक नपर्ने बताएको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले ठूलो अन्योलको बीचमा सहमति कायम गरेर बजेट प्रस्तुत गर्नुपर्ने चुनौतीलाई चिरेर जनअपेक्षा र पार्टी योजनाअनुसार नै बजेट संसदमा बजेट प्रस्तुत भएको उल्लेख गर्दे बजेटमाथिको छलफलमा प्रभावकारीरुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिए ।

“बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा दिइएको छ, समय सापेक्षता र मुलुकको अर्थतन्त्रको अवस्थाअनुसार बजेट सन्तुलित छ । बजेट कार्यान्वयन गरेर जानुपर्छ, यसमा सबैको सहयोगको अपेक्षा छ”, प्रधानमन्त्री दाहाललको भनाइ उद्धृत गर्दै मुख्य सचेतक पाण्डेले भने ।

बैठकमा माओवादी संसदीय दलका नेता एवम् प्रधानमन्त्री दाहालले आगामी आइतबारदेखि बजेटसम्बन्धी छलफल र संसदमा रहेका महत्वपूर्ण विधेयकलाई पनि सँगसँगै अघि बढाइने बताए । बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटका मुख्य विषयवस्तु बारे जानकारी गराएका थिए । उनले बजेटमा पार्टीले दिएको सुझाव तथा जनआकांक्षा समेटिएको स्पष्ट पारे । बैठकमा १२ सांसदले बजेटका सबन्धमा टिप्पणी गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise