२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

महालेखा परीक्षकको प्रतिवेदन : चुरे गाउँपालिकाको आम्दानी ३० लाख, खानामा ३२ लाख खर्च

ADV
सुनिल आउजी
२०८१ असार ४ गते २०:१०
महालेखा परीक्षकको प्रतिवेदन : चुरे गाउँपालिकाको आम्दानी ३० लाख, खानामा ३२ लाख खर्च

धनगढी : एक वर्षमा आन्तरिक आम्दानी ३० लाख गरेको कैलालीको चुरे गाउँपालिकाले ३३ लाख बढी खानामा खर्च गरेको छ । चुरे गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ३३ लाख १८ हजार १ सय ४१ रुपैयाँ खाना तथा खाजामा खर्च गरेको छ ।

सो आर्थिक वर्षमा गाउँपालिकाले आन्तरिक आम्दानी ३० लाख मात्रै गरेको छ । गाउँपालिकाले थप ३ लाख ५० हजार सभा सञ्चालनमा खर्च गरेको छ । यो जोड्दा खाना, खाजा तथा सभा सञ्चालन लगायतमा मात्रै गाउँपालिकाले ३६ लाख बढी खर्च गरेको छ ।

गाउँपालिकाले आन्तरिक आयको १ सय २२ प्रतिशत बढी खाना तथा विविधतर्फ खर्च गरेको हो । महालेखा परीक्षकको प्रतिवेदनमा सो खर्च आन्तरिक आयको भन्दापनि निकै बढी देखिएका कारण खर्च घटाउनुपर्ने उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गरिनुपर्ने भएपनि चुरेले आन्तरिक आम्दानी भन्दा बढी विविध खर्च गरेको छ ।

यस्तै चुरे गाउँपालिकाले भ्रमणका नाममा ३२ लाख बढी बजेट खर्च गरेको छ । महालेखाको प्रतिवेदनमा उल्लेख भए अनुसार गाउँपालिकाले कर्मचारी तथा पदाधिकारीलाई भ्रमण खर्च वापत अनुगमन तथा मुल्याकंन शिर्षकबाट ११ लाख र भ्रमण खर्च शिर्षकबाट २१ लाख ९९ हजार २ सय ८० गरी जम्मा ३२ लाख ९९ हजार २ सय ८० रुपैयाँ खर्च गरेको छ ।

महालेखाका अनुसार अधिकांश भ्रमणको उद्देश्य र प्रायोजन कार्यालयको कामकै लागी हो भन्ने प्रमाण स्पस्ट भएको छैन । पदाधिकारी तथा कर्मचारीहरुले भ्रमणको प्रतिवेदन तथा उद्देश्य समेत स्पष्ट नगरी भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ । भ्रमण तथा अनुगमनका नाममा गरिएको खर्चमा मितव्ययिता कायम नभएकाले अब हुने खर्चलाई मितव्ययी बनाउन महालेखाले सुझाव दिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise