२०८१ कार्तिक २९ गते बिहिवार / Nov 14 , 2024 , Thursday
२०८१ कार्तिक २९ गते बिहिवार

टिकटक पुरानो लयमा फेरि

ADV
२०८१ कार्तिक २९ गते ०६:१५
टिकटक पुरानो लयमा फेरि

-तारा पौडेल

पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारले सामाजिक र नियमन लगायतका विषय औंल्याउँदै प्रतिबन्ध लगाएको टिकटकले नेपालमा पुनः आफ्नो लय लिन शुरु गरेको देखिन्छ । सामाजिक सञ्जालको रुपमा भिडियो प्लेटफर्मका बाबजुद धेरै व्यवसायी, प्रतिभा, शिक्षा लगायतका विषयहरुको राम्रो सञ्चारको माध्यम बनेको टिकटक विगतको तुलनामा परिस्कृत भएर अगाडि बढेको देखिन्छ । यतिमात्रै नभएर टिकटकले नेपालमा नै आफ्नो कार्यालय खोलेर आफ्नो प्लेटफर्मलाई नेपालको कानूनको मातहतबाट थप विस्तार एवं संरक्षित गर्ने प्रयास पनि गर्न खोजेको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाइएको समय देखि यसका उपयोगकर्ताहरुले दोहोरो प्रतिक्रिया दिने गरेका थिए । केहीले सामाजिक सञ्जाल बन्द गर्ने विषयलाई स्वतन्त्रताको विषयसँग जोडेर हेर्ने गरेका थिए भने केहीले सामाजिक सञ्जालहरु नेपालको समाज र कानून अनुकुलन सरकारले चालेको कदम सकारात्मक रहेको जनाएका थिए । यद्यपी टिकटकले पनि सरकारको कदमलाई सकारात्मक रुपमा लिएर सामाजिक र कानुनी प्रतिबद्धतासहित आफ्नो सेवा पुनः विस्तार गर्न तयार भएर आएको छ । 

तथ्यांकीय हिसाबले एकीन नभएपनि टिकटक शिक्षा, स्वास्थ्य, सञ्चार, खोज, प्रतिभा लगायतका धेरै विषयहरुको लागि राम्रो प्लेटफर्म बनिरहेको देख्न सकिन्छ । त्यतिमात्रै नभएर अझ महत्वपूर्ण विषय टिकटक साना व्यवसायी र उद्यमीहरुको लागि धेरै महत्वपूर्ण माध्यम बन्न पुगेको देख्न सकिन्छ । यद्यपी टिकटकलाई सञ्चार उद्यमदेखि धेरै ठूला व्यवसायहरुले पनि आफ्नो महत्वपूर्ण प्लेटफर्मको रुपमा प्रयोग गरेका छन् । 

व्यवसाय र प्रतिभा प्रस्तुतीको हिसाबले टिकटक युवाहरुको बीचमा टिकटक एक प्रमुख मञ्च बन्ने संकेत दिएको छ । बन्द भएको टिकटक पुनः सञ्चालनमा आएपछि, युवाहरुको आबद्धत फेरि पुरानै लयमा पुग्न गएको देखिन्छ । टिकटकले युवाहरुलाई लक्षित गर्दै छोटो भिडियो सामग्री निर्माण गर्न सहयोग गर्छ । जसमा नृत्य, गीत, कला, शिक्षा, हाँसो, व्यवसाय, खोज, वातावरण, जीवनशैली लगायत धेरै विषयलाई छनौट गर्न सकिन्छ । यसले गर्दा, टिकटक एउटा मात्र मनोरञ्जनको साधन नभइ एक सहज भिडियो सञ्चार मञ्चको रुपमा अन्य सामाजिक सञ्जालको तुलनामा धेरै स्थापित हुने अनुमान गर्न सकिन्छ ।

अहिलेको समयमा टिकटकले विभिन्न प्रकारका चलन र ट्रेन्ड्सलाई पनि जन्म दिएको छ । जसले मानिसहरुको सोच्ने परम्परागत तरिकालाई नै बदल्दिन सहयोग पु¥याउन लागेको अनुमान गर्न सकिन्छ । साथै समाजमा तीव्र गतिमा प्रभावयोग्य साधनको रुपमा पनि यसको उपयोगिता अगाडि बढ्न खोजेको छ ।
नेपालको सांस्कृतिक विविधता र परम्परागत कला–व्यवसायहरूको प्रचार प्रसारमा टिकटकको ठूलो भूमिका हुन सक्छ । धेरै युवा कलाकार र संगीतकारहरु टिकटक मार्फत् आफ्नो कला प्रस्तुत गर्दै छन् । नेपाली लोक संगीत, लोक नृत्य र अन्य सांस्कृतिक पहिचानहरुको प्रवद्र्धनमा टिकटकले महत्वपूर्ण भूमिका निभाइरहेको छ । यसले नेपाली संगीत र नृत्यको विशेषताहरूलाई विश्वभर पुर्‍याउने सम्भावना पनि बढाएको छ भने परम्परागत गीत संगीतलाई संरक्षण गर्न पनि भूमिका निर्वाह गर्ने देखिन्छ ।

साथै, नेपाली व्यावसायिक क्षेत्रले पनि टिकटकको प्रभावलाई प्रयोग गर्न थालेका छन् । साना व्यवसाय र स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्नको लागि टिकटकलाई मार्केटिङको उपकरणको रुपमा प्रयोग गरेका छन् । यसले साना व्यवसायीहरूलाई ठूलो मार्केटमा आफ्नो उत्पादन र सेवाहरूको प्रचार गर्न मद्दत गर्न निकै सहयोग गरिरहेको छ । जहाँ मानिसहरुले आफ्नै घरमा वसेर वस्तु तथा सेवाको भरपुर जानकारी प्राप्त गरिरहेका छन् ।

पुनः टिकटकको सञ्चालनले नेपालको डिजिटल परिदृश्यमा एक नयाँ लय शुरु गरेको भए तापनि, यससँग सम्बन्धित चुनौतीहरू पनि रहेका छन् । एक त यस एपले मानसिक स्वास्थ्य र समाजिक व्यवहारमा के कस्तो प्रभाव पार्नेछ भन्ने कुरा अझै स्पष्ट छैन । युवा पुस्तामा यसको अत्यधिक प्रयोगले थुप्रै समस्याहरू सिर्जना गर्न सक्छ । मानिसहरुको शारिरिक श्रम र पारिवारिक तथा सामाजिक समयलाई यसले घटाइदिन सक्छ ।

यसोभए पनि, यदि यसलाई सन्तुलित र सही प्रयोग गरिन्छ भने टिकटक नेपालको डिजिटल मिडिया विकासमा ठूलो योगदान पुर्‍याउन सक्छ । यसले नेपाली संस्कृति र समाजलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्नमा मद्दत पुर्याउने मात्र होइन, नयाँ नयाँ अवसरहरूको सिर्जना पनि गर्न सक्छ ।

नेपालमा टिकटकको पुनः आगमनले नयाँ लय र दिशाको संकेत दिएको छ । यो केवल एक मनोरञ्जनको साधन नभई एक शक्तिशाली सामाजिक र सांस्कृतिक मञ्चको रुपमा विकास भइरहेको छ । नेपाली युवाहरुले यसको माध्यमबाट आफ्नो प्रतिभा र सन्देशलाई विश्वसामु प्रस्तुत गर्नका लागि एक उत्तम प्लेटफर्म पाएका छन् । यसको सही र विवेकपूर्ण प्रयोगको महत्व पनि उस्तै रहन्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise