२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मणिपुरमा एक महिला र २ बालबालिकाको शव फेला

Nada
२०८१ मंसिर १ गते १३:३३
Shares
मणिपुरमा एक महिला र २ बालबालिकाको शव फेला

मणिपुर : भारतको आसाम सीमा नजिकै रहेको मणिपुरको जिरिबाम जिल्लामा शुक्रबार साँझ एक महिला र दुई बालबालिकाको शव भेटिएको छ । जिल्लाको जिरिमुक गाउँ नजिकैको जिरी खोलामा तैरिरहेको अवस्थामा उनीहरूको शव फेला परेको हो ।

ncell

गत सोमबार नोभेम्बर ११, जिरिबामको बोरोबेकरा थाना क्षेत्रमा सीआरपीएफसँगको कथित भिडन्तमा १० आदिवासी युवाको मृत्यु भएको थियो। सुरक्षा बलका अनुसार मारिनेहरू सन्दिग्ध चरमपन्थी थिए। सोही दिन साँझ बोरोबेकरा प्रहरी चौकी नजिकै रहेको राहत शिविरबाट एकै परिवारका ६ जना बेपत्ता भएका थिए ।

जसमा एक ६० वर्षीया वृद्धासहित तीन महिला र तीन बालबालिका थिए । पाँच दिनपछि शुक्रबार एक महिला र दुई बालबालिकाको शव फेला परेको हो । स्थानीय सञ्चारमाध्यमले ती शव बेपत्ता भएका व्यक्तिहरूको भएको बताए पनि प्रहरीले भने शवको पहिचान हुन नसकेको बताएको छ ।

शव भेटिएको स्थान राहत शिविरबाट करिब २० किलोमिटर टाढा रहेको बताइएको छ । स्थानीय बासिन्दाका अनुसार नदीमा भेटिएका शव कुहिएको अवस्थामा थिए ।

आसाम प्रहरीको जानकारी अनुसार तीनै शवलाई पोस्टमार्टमको लागि सिलचर मेडिकल कलेज र अस्पतालमा ल्याइएको छ र हाल तिनीहरूको पहिचान पुष्टि भइरहेको छ। शव पहिचान नभएसम्म यी तीनै शव बेपत्ता भएकाहरुका हुन् भन्न नसकिने प्रहरीले जनाएको छ ।

नदीमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि आसाम राइफल्सका जवानहरूले घटनास्थल पुगेर शव निकालेका थिए।

मेइती समुदायका विभिन्न संघसंस्थाले भिडन्त भएको दिन एकै परिवारका ६ जनालाई अतिवादीले अपहरण गरेको आरोप लगाएका छन् । बेपत्ता व्यक्तिहरूको उद्धार गर्न, प्रहरी र केन्द्रीय सुरक्षा बलहरूको टोलीले क्षेत्रमा व्यापक खोज अभियान सुरु गरेको छ। बेपत्ता महिला र बालबालिकालाई लिएर इम्फाल र जिरिबममा लगातार विरोध प्रदर्शन भइरहेको छ।

मणिपुरको मेइती समुदायको मुख्य संगठन मणिपुर अखण्डता समन्वय समितिले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको हस्तक्षेपको लागि पत्र पठाएको थियो। गत नोभेम्बर ७ मा जिरिबाममा सशस्त्र चरमपन्थीहरूले कुकी जनजातिकी एक महिलालाई गोली हानेर उनको घरसँगै जलाइदिएको आरोप छ। यो घटनापछि मणिपुरको जिरिबाममा लगातार हिंसा भइरहेको छ । -एजेन्सी  

सम्बन्धित खबर