२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

रवि बचाउन रास्वपाको गुहार !

ADV
दिवाकर अधिकारी
२०८१ मंसिर ३ गते ०६:५०
रवि बचाउन रास्वपाको गुहार !

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न खोजेको एक साता हुन लाग्यो । रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार पार्टीले यही मंसिर ८ गतेदेखि हुने दोस्रो चरणको आन्दोलनको मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाउन खोजेको छ । तर, प्रधानमन्त्री ओलीले रास्वपाका नेताहरूलाई भेटका लागि समय दिएका छैनन् । 

‘प्रधानमन्त्रीसँग भेट्न ५ दिन प्रयास गर्‍यौं’, झाले आइतबार पत्रकार सम्मेलनका क्रममा भने, ‘५ मिनेट मात्र समय दिनुस् भनेर ५ दिनदेखि अनुरोध गर्दा पनि बेवास्ता गर्नुभयो ।’ 

सभापति रवि लामिछाने पक्राउ परेसँगै आन्दोलनमा गएको रास्वपा १ महिनादेखि सडक आन्दोलनमै छ । लामिछाने यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका हुन् । लामिछानेविरुद्ध रुपन्देहीमा पनि उजुरी थियो । उजुरीका आधारमा बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको आरोप पक्राउ पुर्जी जारी भएको थियो । यसबीचमा प्रहरीले लामिछानेको रुपन्देहीमा लगेर पनि बयान लिएको छ । 

लामिछाने पक्राउको विरोधका पहिलो चरणको आन्दोलन चलिरहेका बेला रास्वपाका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । पार्टी उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारले कात्तिक दोस्रो साता प्रधानमन्त्री ओलीलाई भेटेका थिए । आन्दोलन गरिरहेका नेताहरू प्रधानमन्त्रीलाई भेट्न गएको भनेर आलोचना भएपछि अर्याल र परियार दुवैले आन्दोलनका कार्यक्रमबारे जानकारी गराउन गएको प्रष्टीकरण दिएका थिए । 

यस पटक रास्पवाले दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेर त्यसबारे जानकारी गराउने भनेर औपचारिक रूपमै भेट्न चाहेको छ । तर, रास्वपाका नेताहरूसँगको आग्रहलाई प्रधानमन्त्री ओलीले स्वीकार गरिरहेका छैनन् ।

कतिपय नेताहरू रास्वपाले प्रधानमन्त्रीलाई भेट्न खोज्नुको कारण सभापति लामिछानेको बचाउका लागि आग्रह गर्नुसमेत रहेको हुन सक्ने बताउँछन् किनभने लामिछानेको बचाउका लागि रास्वपाका नेताहरू एकभन्दा बढी उपाय खोजिरहेका छन् ।

सभापति लामिछाने पक्राउ परेसँगै आन्दोलनमा गएको रास्वपा १ महिनादेखि सडक आन्दोलनमै छ । सडकबाट दबाब दिने नीतिसँगै रास्वपाका नेताहरू अदालती प्रक्रियामा समेत सहभागी हुन तयार छन् । लामिछानेविरुद्धको मुद्दा छिटो अदालत लगिदिन उनीहरूको आग्रह छ । सडक आन्दोलन र अदालतबाट सभापतिलाई बचाउन लागि परेका रास्वपाका नेताहरू शीर्ष राजनीतिक भेटघाटमा पनि देखिन्छन् । 

गत कात्तिक दोस्रो साता उपसभापति अर्याल र प्रमुख सचेतक परियारले गरेको भेटबारे प्रश्न उठे तापनि रास्वपा नेताहरू फेरि प्रधानमन्त्री ओली भेट्न खोजिरहेका छन् । नेताहरूका अनुसार सार्वजनिक रूपमा हुन सक्ने वा हुने आलोचनालाई वास्ता नगरी रास्वपाका नेताहरू सभापति लामिछानेको बचाउका लागि सबै खाले उपाय अपनाउन तयार देखिन्छन् । 

रविविरूद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी 

रास्वपाका सभापति रवि लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । 

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो । 

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन भएको भनेर ६४५ जनाले जाहेरी दिएका छन् । उक्त सहकारीका अध्यक्ष जी. बी. राई थिए । उक्त सहकारीमा २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूको दाबी छ ।

ADVADV

सम्बन्धित खबर

Advertise