२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

आर्थिक विकासका लागि लगानी खाेज्दै लुम्बिनी प्रदेश सरकार

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर ४ गते १२:२९
आर्थिक विकासका लागि लगानी खाेज्दै लुम्बिनी प्रदेश सरकार

देउखुरी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशकाे आर्थिक विकाससँग जाेडिएका महत्त्वपूर्ण आयाेजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरुसँगकाे छलफललाई तीव्रता दिएका छन् ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय राप्ती उपत्यका देउखुरीमा बेलायती दूतावासका आर्थिक विभाग प्रमुख साम फेलकाे नेतृत्वमा रहेकाे टाेलीसँग छलफल गर्दै प्रदेशकाे आर्थिक विकाससँग जाेडिएका महत्त्वपूर्ण आयाेजनाहरुमा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरेका हुन् । सरकारले लगानीकाे वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका याेजनाहरुमा साझेदारी गर्न उनले अनुराेध गरे ।

प्रदेश राजधानीलाई हरित र नदी सभ्यतामा आधारित नमुना शहर बनाउन लगानी चाहिएकाे जानकारी गराउँदै मुख्यमन्त्री आचार्यले सरकारले लगानीकाे वातावरण बनाउने र त्यसमा ढुक्क भएर काम गर्न आग्रह गरे । 'लगानीकाे वातावरण बनाउन चाहिने आधारहरु सरकारले बनाउँछ । ढुक्ककाे वातावरण हामी निर्माण गर्छाैं । प्रदेशकाे आर्थिक विकाससँग जाेडिएका आयाेजनालाई अघि बढाउन हामीसँग प्रशस्त बजेट छैन,' मुख्यमन्त्री आचार्यले भने, 'दातृ निकाय, निजी क्षेत्रसँग सहकार्य गरेर महत्त्वपूर्ण आयाेजनालाई अघि बढाउन चाहन्छाैं ।'

प्रदेश सरकारले लुम्बिनी प्रदेशकाे राजधानी शहर निर्माण, शिवपुर र कालाकाटे सुरुङ मार्ग, बौद्ध सर्किटमा माेनाेरेल सञ्चालन, कृषि र पर्यटन क्षेत्रमा सघन परियाेजनाहरु अघि बढाउन सक्ने गरी लगानीकाे क्षेत्रका बारेमा जानकारी गराएकाे छ । शिवपुरदेखि कालाकाटेसम्मको सुरुङ मार्ग ७ किलोमिटरकाे हुने प्रारम्भिक सर्वेक्षणबाट देखिएकाे छ । जसले १८ किलोमिटर बाटाे छाेटिने भएकाले राजधानीसँग पहुँच सहज हुने देखिएको छ ।

'यी आयाेजना अघि बढे भने प्रदेशकाे आर्थिक विकासमा महत्त्वपूर्ण याेगदान पुग्छ । घाटा हाेइन नाफामा जाने आयाेजना हुन्,' मुख्यमन्त्री आचार्यले भने, 'सरकार, दातृ निकाय, निजी क्षेत्रकाे बीच सहकार्यमा अघि बढाउन सक्छ ।' प्रदेश सरकारले लुम्बिनीमा लगानी भित्र्याउन लगानी बोर्डसँग पनि निरन्तर छलफल गरिरहेकाे छ । लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी पनि छ । प्रदेश सरकारले दाेस्राे आवधिक याेजनालाई पूर्णता दिन लागेको छ । जसमा दिगाे विकास लक्ष्यले निर्धारण गरेका लक्ष्य, उद्देश्यसँग जाेडेर याेजनाकाे प्राथमिकीकरण गरिएको समेत मुख्यमन्त्री आचार्यले जानकारी दिए ।

गरिबीकाे रेखामुनि रहेका नागरिकहरुकाे जीवनस्तर उठाउने गरी कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकमा राखिएको छ । छलफलमा प्रदेशका प्रमुख सचिव महादेव पन्थ, प्रदेश सचिव ईश्वराज पाैडेल, प्रदेश याेजना आयाेगका पूर्वउपाध्यक्ष डा. नहकुल केसी, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउतलगायतले भाग लिएका थिए।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise