काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ ।
संसदीय दलका नेता परियार प्रधानमन्त्री ओली भेट्न सिंहदरबार पुगेका थिए ।
प्रधानमन्त्री ओलीले यसअघि रास्वपा नेताहरूलाई भेट्ने समय दिएका थिएनन् । ओलीले भेट्न समय नदिएपछि रास्वपा नेताहरूले पत्रकार सम्मेलन गरी आफ्ना मागहरु सार्वजनिक गरेका थिए ।
ओली–परियारबीचको भेटमा समसामयिक राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको थियो । भेटमा परियारले पार्टी अध्यक्ष रवि लामिछानेको विषयसमेत उठान समेत गरेका थिए ।
राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरी हिरासतमा राखिएको भन्दै उनले प्रधानमन्त्री ओलीसमक्ष गुनासो व्यक्त गरे ।
प्रधानमन्त्री ओलीलाई नेता परियारले लामिछानेलाई थुनामा राखेर नै अनुसन्धान गर्नुपर्ने परिस्थिति नरहेकोबारेमा पनि ध्यानाकार्षण गराएका थिए ।
रास्वपा सभापति लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराधलगायतका कसुरमा छानविन भइरहेको छ ।
यसअघि पनि रास्वपाका उपसभापति डीपी अर्याल लगायतले प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।