केही दिन पछि नेपाल सरकार दिवस सप्ताह मनाउन शुरू गर्दैछ । सरकारी बन्दोबस्तमा सप्ताहकै रुपमा मनाइने यो दिवसको तयारी शुरु भइसकेको छ । व्यवस्था परिवर्तनका लागि पटक–पटक भएको विद्रोहमा हजारौं बीरबीरंगनाले प्राणको आहूती दिए पनि सरकारले माघ १६ गतेलाई शहीद दिवस मनाउने गरेको छ । राणा शासनको कालरात्रि तोड्न प्राणको आहुती दिएका चार शहीदको सम्झनामा यो दिवस मनाइन्छ । तर, पञ्चायत शासन अन्त्य गर्नका लागि प्राण त्याग गर्नेहरुका लागि छुट्टै शहीद सप्ताह मनाइदैन भने त्यस यताका हजारौं शहीदहरुको राम्रोसँग लेखाजोखा समेत गरिएको छैन ।
राजतन्त्र अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका माओवादी विद्रोहकालीन शहीदहरुबारे राष्ट्रिय सहमति समेत देखिदैन । शहीदको परिभाषामै गणतान्त्रिक सरकार प्रष्ट छैन । गृह मन्त्रालयसँग आधिकारिक तथ्याङ्क छैन । छुट्टै दल गठन गर्ने र उनको विद्रोहमा हुने आहूतीलाई अर्का दलले शहीद नमान्ने प्रवृत्ति विद्यमान छ । तसर्थ पनि नेपाल सरकार शहीदबारे अन्योलमा छ । तर, भुल्न नहुने तथ्य के हो भने प्रत्येक विद्रोहले सानो ठूलो परिवर्तन ल्याएको छ । मधेश विद्रोहले देशमा संघीयता सुनिश्चित गर्न ठूलो योगदान दिएको छ ।
तर, मधेश विद्रोहको यो तेह्र वर्षमा स्वयम् विद्रोहको नेतृत्व गर्ने दल समेत यसप्रति गम्भीर देखिदैनन् । एक महीना अगाडि मात्रै उपेन्द्र यादवले सरकार छोडेका छन् । यिनै यादवको नेतृत्वमा २०६४ माघ पहिलो साता मधेश विद्रोहको उद्घोष भएको थियो, त्यही उद्घोष पछि सडकमा उत्रिएका मधेशका सयौं सन्तानले प्राणको आहूती दिएका छन् । तर, प्राणको आहूती दिनेको परिवारले न्यायको अनुभूति गर्न सकेका छैनन् । मधेश केन्द्रित राजनीति गर्ने दलहरुले शहीदका परिवारलाई ५० लाख दिने घोषणा नै गरेका थिए । तर, आफैं सरकारमा रहँदा र सरकारलाई समर्थन जनाइरहँदा यसप्रति चासो समेत देखाएको पाइएन ।
प्रदेश नम्बर दुईमा तिनै मधेश केन्द्रीत दलहरुको गठबन्धन सरकार छ । तर, ५० लाखको उद्घोष गर्ने दलकै सरकार हुँदा पनि शहीदबारे प्रष्ट परिभाषा र प्रबन्ध मिलाउन सकेको छैन । मुख्य कुरा शहीदको सपना हो । व्यवस्था परिवर्तन, सामाजिक न्याय र स्तरीय जीवनको सपना देखेर प्राणको आहूती दिएका हरुप्रतिको अचम्मको वेवास्ताले विद्यमान व्यवस्था माथि प्रश्न उठाउँछ । शहीद, तिनको परिवार र प्राण त्याग्नु अगाडि देखाइएको सपनाप्रति बेवास्ता गर्दा प्राप्त उपलब्धी संस्थागत हुनेमा समेत प्रश्न खडा हुन सक्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies