डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा मतदान सम्पन्न भएको छ । बिहान ८ बजेर २० मिनेटदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । उनका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण हिसाबमा सम्पन्न भएको छ ।
३५३ मतदाता संख्या रहेको युक्त वडामा १४५ जना पुरुष र १५८ जना महिला गरी ३ सय ३ मत खसेको छ । मतदान प्रक्रिया सम्पन्न भएपनि मतगणना भने सोमबार बिहानदेखि सुरु गरिने निर्वाचन प्रमुख श्याम कुमार राईले जानकारी दिए ।
मतदान सम्पन्नपछि बसेको सर्वदलीय बैठकले राति भएका कारण आज मतगणना गर्न नसकिने र सोमबार बिहान ९ बजेपछि मात्रै मतगणना गर्ने निर्णय गरेको प्रमुख राईले बताए ।
वडाध्यक्ष पदका लागि भएको उपिनर्वाचनमा नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्री, नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाय उम्मेदवार छन् । एकीकृत समाजवादीबाट ज्वती घर्तीले उम्मेदवारी दिए पनि उनले उम्मेदवारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेदवार घर्तीलाई सघाएकी छन् ।
गत स्थानीय तहको चुनावमा कुल ३ सय ६३ मतदाता रहेकोमा नेकपा एमालले १ सय ६, नेकपा माओवादी केन्द्रले १ सय ३ र नेपाली कांग्रेसले ८३ मत प्राप्त गरेको थियो । यस पटकको निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
अघिल्लो पटक सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकायको मृत्यु भएपछि सोही पदका लागि उपनिर्वाचन भएको हो ।