सुर्खेत : स्थानीय तहको उपचुनावअन्तर्गत कर्णाली प्रदेशमा नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदका लागि मतदान भएको थियो । कर्णालीका सबै ठाउँको नतिजा आइसकेको छ । कर्णालीमा नेकपा माओवादी केन्द्रले ३, नेपाली कांग्रेसले २ ठाउँमा जित निकालेको छ । यस्तै नेकपा एमाले दुई, नेमकिपा एक ठाउँमा विजयी भएको छ ।
कांग्रेसलाई धक्का
२०७९ को स्थानीय तह निर्वाचनमा जितेको ठाउँमा नेपाली कांग्रेसलाई यसपटकको उपनिर्वाचनमा धक्का लागेको छ । गत निर्वाचनमा कांग्रेसले प्रभाव जमाएर जितेको दैलेखको महाबुमा आइतबार भएको उपनिर्वाचनमा धक्का लागेको हो । महाबु गाउँपालिकाको अध्यक्ष अघिल्लोपटक कांग्रेसले जितेको थियो । तर उपनिर्वाचनमा एमाले विजयी भएको छ । महाबुमा एमालेका जंगबहादुर शाही ३ हजार १२७ मत ल्याएर विजयी भएका हुन् ।
कांग्रेस उम्मेदवार झलक भण्डारीले २ हजार ६७५ मत ल्याए । अघिल्लोपटक महाबुमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९२९ मत ल्याएर विजयी भएका थिए । एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५११ मत प्राप्त गरेका थिए । महाबुमा कांग्रेसको विरासत तोडिएसँगै २०७४ पछि एमाले पुनः विजयी भएको हो । कांग्रेसले यस पटकको चुनावमा विरासत गुमाएको छ । महाबुमा कांग्रेसले युवानेता झलकबहादुर भण्डारीलाई अगाडि सारेर अध्यक्षमा आफ्नो निरन्तरता दिन खोजेको थियो ।
यस्तै २०७९ मा नलगाडमा कांग्रेसको भागमा परेको उपप्रमुख पद माओवादीले खोसेको छ । यहाँ कांग्रेस सहानुभूतिको मात्र नभइ भूगोलको समेत मत तान्ने योजनामा थियो । जसका लागि उसले दिवंगत उपमेयर सरिता सिंहकी भाइ बुहारी इन्द्रा चन्द (सिंह)लाई उम्मेदवारका रूपमा अघि सार्यो भने अन्य उम्मेदवार नलगाड खोलावारी रहेका र आफ्नो मात्र उम्मेदवार खोलापारिको भनेर मतदातासमक्ष गयो ।
अधिकांश वडा नलगाड खोलापारी नै छन् । तर, कांग्रेसको यो रणनीति जित निकाल्न पर्याप्त भएन । सहानुभूतिको मत बटुल्ने प्रयास गरेका थिए । तर, परिणाम कांग्रेसको पक्षमा आएन । नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादीकी उम्मेदवार देवका लामिछाने विजयी भइन् । लामिछानेले नेपाली कांग्रेसकी उम्मेदवार इन्द्रा चन्द (सिंह) लाई पराजित गरेकी हुन् । लामिछानेले ४ हजार २७२ मत प्राप्त गरी चन्दलाई हराएकी हुन् । चन्दले ३ हजार १४७ मत प्राप्त गरी पराजित भएकी छिन् ।
इलाकामै माओवादी कमजोर !
तत्कालीन माओवादी जनयुद्धको आधार इलाकाका रुपमा परिचित रुकुम पश्चिमको एक वडामा माओवादीको विपक्षमा उपनिर्वाचनको नतिजा आएको छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर–५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका मोतीराम खत्री ५९० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत ल्याए । यहाँ १ हजार १४६ मत खसेको थियो । सशस्त्र द्वन्द्वकालमा माओवादीको आधार इलाका मानिने रुकुमको यस स्थानमा अघिल्लो चुनावमा पनि कांग्रेसले नै जितेको थियो ।
यस्तै जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ मा माओवादीको सिट कांग्रेसले नै खोसेको छ । त्यहाँ नेपाली कांग्रेसका खम्बबहादुर सिंह विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीलाई १५ मतले पराजित गर्दै सिँह विजयी भएका हुन् । विजयी सिंहले ३४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरे ।
यसअघि माओवादीका मनबहादुर घर्ती उक्त वडामा निर्वाचित भएका थिए । यसैगरी कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खड्कबहादुर शाही विजयी भएका छन् । उनी १४३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत प्राप्त गरेकी छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा यस वडामा नेकपा माओवादीकेन्द्रले निर्वाचन जितेको थियो ।
एमालेलाई सबक
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भएका छन् । उनले १६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर रोकाले ११६ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरेका छन् । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण गत माघमा निधन भएपछि पद रिक्त थियो । त्यतिबेला नेकपा एमालेबाट निर्वाचित भएका रोकाले १ सय ८ मत प्राप्त गरी माओवादीका जंगबहादुर रोकायलाई पराजित गरेका थिए ।
रास्वपाको मत नगन्य, जमानत जफत !
कर्णाली प्रदेशमा भएको स्थानीय तहको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३७४ मत पाएको छ । आइतबार सम्पन्न उपचुनावको मतदानमा कर्णालीका पाँच पालिकामा रास्वपाका उम्मेदवारले अपेक्षित मत प्राप्त गर्न सकेनन् । जाजकोटको नलगाड नगरपालिकाको उपप्रमुखका लागि भएको निर्वाचनमा रास्वपा उम्मेदवार पार्वती पुनले १७९ मत प्राप्त गरिन् । यस्तै, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार रहेका रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत प्राप्त गरेका छन् ।
कालीकोटको तिलागुफा नगरपालिका– ४ को वडाध्यक्ष पदको उम्मेदवार रहेका गगन बमले ५ मत प्राप्त गरे । यस्तै, दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका उम्मेदवार रामबहादुर शाहीले ५३ मत प्राप्त गरेका छन् भने हुम्लाको सर्केगाडमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बाँचा बुढाले २५ मत पाप्त गरेका छन् । रास्वपा उम्मेदवारहरूले अधिकांश ठाउँमा जमानत समेत जोगाउन सकेनन् ।