२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

उपनिर्वाचनको सन्देश : २०८४ लाई मार्गदर्शक

Nada
अस्मिता बम
२०८१ मंसिर १९ गते ०६:२५
Shares
उपनिर्वाचनको सन्देश : २०८४ लाई मार्गदर्शक

काठमाडौं : राजनीतिक दलहरू स्थानीय तहका विभिन्न ४१ पदमा भएको उपनिर्वाचनको परिणामको समीक्षामा छन् । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले निर्वाचनको परिणामबारे औपचारिक रूपमा केही बोलेको छैन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले लोकतन्त्रमा सत प्रतिशत जितको अपेक्षा लोकतान्त्रिक सोच नहुने बताएको छ ।

ncell

पर्टीका महामन्त्री विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर जित र हार बेहोरेका सबै स्थानका कारण र वस्तुगत समीक्षा आगामी निर्वाचनको रणनीति निर्माणका लागि महत्त्ववपूर्ण रहने निष्कर्ष पार्टीको रहेको उल्लेख गरेका छन् । अर्थात्, यस पटकको उपनिर्वाचनको परिणामसमेतका आधारमा २०८४ सालको निर्वाचनको तयारीमा जुट्ने उनको संकेत छ । 

२०७९ सालमा गठबन्धन गरेर निर्वाचन लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनीतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण रहेको उनको तर्क छ । अर्थात्, गत निर्वाचनमा गठबन्धन गर्दा अर्को दलको समेत मत लिएर पार्टीले बढी स्थानमा जित हात पार्न सफल भएको कांग्रेसको स्वीकारोक्ति छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र भने उपनिर्वाचनबाट उत्साहित छ । माओवादीले एक्लै निर्वाचन लड्न सक्दैन भन्ने भाष्य चिर्न सफल भएको उनीहरूको बुझाइ छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै निर्वाचन लड्ने जनादेश पाएको बताएका छन् । प्रेस विज्ञप्ति निकालेर प्रचण्डले उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीले आफ्नो एजेन्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशको रूपमा लिएको बताएका हुन् ।

कांग्रेस र एमाले मिलेरसमेत कतिपय ठाउँमा निर्वाचन लडेका र ती क्षेत्रमा माओवादीले जितेको भन्दै उनले लेखेका छन्, ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ ।’

४१ पदका लागि भएको उपनिर्वाचनमा कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडा अध्यक्षमा जित हासिल गरेको छ । एमाले १ गाउँपालिका अध्यक्ष, २ गाउँपालिका उपाध्यक्ष र ५ वटा वडामा विजयी भएको छ । माओवादी केन्द्रले १ गाउँपालिका अध्यक्ष, २ गाउँपालिका उपाध्यक्ष र १ नगरपालिका उपमेयरसहित ७ वटा वडामा जित हासिल गरेको छ ।

उपनिर्वाचनमा जसपा नेपाल २, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी १÷१ स्थानमा विजयी हुँदा १ स्वतन्त्र उम्मेदवारले वडा अध्यक्ष जितेका छन् ।

नेताहरूका अनुसार कांग्रेस र एमालेले साना दल कमजोर रहेका देखाउन खोजेका थिए, सकेनन् । नयाँ र स्वतन्त्र पक्षधरले पुराना दलको विकल्प तयार भएको तर्क गरेका थिए, त्यो पनि निर्वाचनमा देखिएन बरु कांग्रेस र एमालेको विकल्प नयाँ र स्वतन्त्र नभई माओवादी केन्द्र हो भन्ने निर्वाचनको नतिजाले देखाएको छ ।

ताजा खबर

सम्बन्धित खबर