काठमाडौं-बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
शुक्रवार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै देउवाले भने, ‘बीआरआई सम्झौतामा सरकारले हस्ताक्षर गरेको छ । म प्रधानमन्त्रीलाई धन्यवाद दिन्छु ।’
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा बीआरआईमा ऋण लिने सहमति नभएको देउवाले भने । देउवाले सम्झौता अनु्सार बीआरआईमा ऋण नलिइएको बुझ्नु आग्रह गरे । ‘ऋण लिएकै छैन’, उनले भने ।
उनले संविधान संशोधनको काम अगाडि बढिरहेको बताउँदै सहमतिका आधारमा मात्र संविधान संशोधन गरिने उल्लेख गरे ।
गगन थापालाई सभापतिमा उठाउन खोजेको भन्ने प्रश्नमा देउवाले भने, ‘तपाईँहरू जहाँ पायो, त्यहीँ घोषणा गर्नुहुन्छ, त्यसो नगर्नुस् ।’ देउवाले आफूले उत्तराधिकारी घोषणा गरेर नहुने बताए । सबै कुरा विधि र प्रक्रियाअनुरूप अगाडि बढ्ने उल्लेख गर्दै देउवाले आफूले उत्तराधिकारी घोषणा गरेर नहुने बताए ।
शेखर कोइरालाले विराटनगरमा भेला गरेको विषयमा देउवाले आफूलाई कुनै जानकारी नभएको बताए । पार्टीको महाधिवेशन समयमै हुने उनले दाबी गरे ।
उनले संविधान संशोधनमार्फत उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन सकिने बताए । ‘उपराष्ट्रपतिको भूमिका छैन । संविधान संशोधनमार्फत उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन मिल्छ,’ उनले भने ।