काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमवार बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको जानकारी दिए ।
उनका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्नेछ । बैठकमा स्थानीय तह उपनिर्वाचन र पछिल्ला राजनीतिक विषयमा छलफल हुने छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पनि छलफल हुने छ । प्रधानमन्त्री ओलीको मंसिर १७ देखि २० गतेसम्म भएको चीन भ्रमणका क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्कमा भएको हस्ताक्षरबारे कांग्रेसले आधिकारिक धारणा बनाउने एक नेताले बताए ।
कांग्रेस र एमालेले तयार पारिएको फ्रेमवर्कको मस्यौदामा अनुदानमा बीआरआई कार्यान्वयन गर्न सकिने उल्लेख थियो । तर, चीनले अनुदानमा मात्र बीआरआई कार्यान्वयन गर्न नसकिने बताएपछि फ्रेमवर्कमा नेपालले लेखेको अनुदान शब्दलाई हटाएर सहायता शब्द राख्ने सहमति जुटेपछि हस्ताक्षर भएको हो । बीआरआईमा ऋण÷सहायता दुवै अर्थ लाग्ने गरी हस्ताक्षर भएको भन्दै कांग्रेसका एकथरी नेताहरूले आपत्ती जनाएका छन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितका पदाधिकारी एव सदस्यहरूलाई बोलाइएको छ ।