काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्याइने बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा सभा तथा प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले अन्तिम चरणमा पुगेको शान्तिप्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय एकता र सहमति अपरिहार्य भएको बताए ।
अध्यक्ष दाहालले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई राष्ट्रिय सहमतिबाटै टुंगोमा पुर्याउनुपर्छ”, उनले भने । एकता प्रक्रियामा जोडिएका शिक्षकलाई स्वागत गर्दै उनले यसले बृहत् एकताको बाटो फराकिलो बनाउने बताए ।
आफू प्रधानमन्त्री भएका बेला विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता भएको जानकारी दिँदै उनले यसलाई पारित गराउन फेरि एक पटक सबैले बल गर्नुपर्नेमा जोड दिए । “विधेयक अझै पूर्ण नभएको भनी शिक्षक आन्दोलन भइरहेको छ, शिक्षकका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्नुपर्छ”, उनले भने । यो विधेयक पारित गराउन आफूले हर सम्भव प्रयत्नज गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन र शिक्षक समाजबीच एकता
सो अवसरमा माओवादी केन्द्रको विचारसँग सहमत भएका शिक्षकहरूको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । समाजका सबै तहका कमिटी संगठनमा समाहित भएका छन् ।
संगठनका अध्यक्ष शंकर अधिकारी र समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरे । सो क्रममा दुवै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको थियो ।
संगठनका अध्यक्ष अधिकारीले शिक्षक अधिकारका निम्ति एकता आवश्यक भएको बताए । समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकताबद्ध पहलको खाँचो औँल्याए ।