काठमाडौँ : नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सरकारले रास्वपा सभापति रवि लामिछानेलाई गरेको व्यवहारको विरोध जनाएका छन् । उनले सरकारले नियतवश नै लामिछानेलाई जिल्ला जिल्लामा दौडाएको आरोप लगाए ।
उनले भने, ‘अहिलेको गृहमन्त्री रमेश लेखक दाइ कानूनको ज्ञाता पनि हुनुहुन्छ । हाम्रो गृहमन्त्री नै भएको बेलामा यो केस न्यायिक निरूपणको विषय हो । न्यायालयले यसबारे बोल्नुपर्ने कुरा हो । सकेसम्म पहिलो हप्ता नभए ८-१० दिनभित्र अदालतमा बुझाइदिनुपर्ने हो । तर, नियतवश, मानिसिक रूपमा ह्यारेस गराउनको निम्ति रविलाई कहिले कता कहिले कता कुदाएको छ । देख्दा हेर्दा लोकलाई पनि लाज हुने गरी सबैले बुझ्ने गरी अन्यायपूर्ण ढंगले काम भइरहेको छ । यसको भर्त्सना गर्छु ।’
उनले प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई तीन दिनभित्र रवि लामिछानेको केस अदालतमा पेस गर्न माग गरे । विधिको शासन सबैले मान्नुपर्ने भएकाले अदालतको निर्णय नै अन्तिम हुने उनको भनाइ छ ।